
पूर्णपुष्टि, पुष २४ । उदयपुर र धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध कारोबारमा संलग्न ८ जना युवालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आईतबार वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–७ बाट ५ जना युवालाई प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा–१२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, धरान–१९ का २१ वर्षीय रोहित कार्की र १९ वर्षीय अनुराग राई रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल बरामद गरेको छ ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरले छुट्टै कारबाहीमा थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का २० वर्षीय अभिषेक कार्की, त्रियुगा–१२ का १९ वर्षीय रिजन राई र त्रियुगा–१० का २३ वर्षीय नरहरि खड्का रहेका छन् । उनीहरूको साथबाट ३२ ट्याब्लेट ट्रामाडोल र स्पास्मो बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका सबै आरोपीहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाएको जनाएको छ ।