
पूर्णपुष्टि, चैत्र ५ ।
उदयपुरको समग्र विकासका लागि साझा धारणा तय भएको छ । जिल्ला समन्वय समिति उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको ब्यवस्थापनमा सर्बपक्षीय दल तथा संघीय, प्रदेश सांसदहरुको उपस्थितिमा जिल्लाको समग्र विकासका लागि साझा धारणा तय भएको हो ।
जिल्लाको सडक, नदी नियन्त्रण, प्राकृतिक स्रोत साधन सदुपयोग, एयरपोर्ट, मेडिकल कलेज, शिक्षा, स्वास्थ्य, कृषि आदिको विषयलाई एकिकृतरुपमा अगाडी बढाई समग्र विकासमा एकजुट हुने प्रतिबद्धता सहित १९ बुँदे त्रियुगा घोषणापत्रसमेत जारी गरेका छन् । उदयपुर विकास बोर्डका पूर्व संयोजक तथा त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीले प्रस्तुत गरेको अवधारणा पत्रमा ब्यापक छलफलपछि घोषणापत्र जारी गरिएको हो । उदयपुर निर्वाचन क्षेत्र नंं. २ का संघीय सांसद अम्बर रायमाझी, प्रदेश उपसभामुख सिर्जना दनुवार, प्रदेश सांसदहरु राजन किराँती (बासु), सम्झना तामाङ, गिता रेग्मी, पालिका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति थियो । जिल्लाको समग्र विकासका लागि उनीहरु सबैले साझा धारणा ब्यक्त गरेका थिए ।
उदयपुर जिल्लाको रुपान्तरणकारी विकासको साझा कार्यक्रम तयार गर्ने, विकास निर्माणमा निवार्चित जनप्रतिनिधि, सबै राजनीतिक दल तथा विकाससंग सरोकारवालाहरुबीच छलफलको माध्यामबाट साझा एजेन्डा तयार गरी सहमतीय विकास र सामुहिक जिम्मेवारी वहन गर्ने, उदयपुर जिल्लाको अािर्थक समृछि तथा मानवीय विकासमा उच्चतम् स्थान हाँसिल गर्न उपाय तथा आधारहरु तयार गर्ने, अन्तर स्थानीय तहहरुबीच समन्वय, सहकार्य र साझोदारी विकास गर्ने, श्रोतहरुको पहिचान तथा पहल गर्न सामुहिक जिम्मेवारी तथा उत्तरदायित्व वहन गर्ने, तहगत सरकारहरुको जिम्मेवारी स्पष्टता पार्ने र उदयपुर जिल्लाको विकास सम्बन्धी साझा घोषणापत्र तयार गर्ने गरी सात उद्देश्यका साथ कार्याक्रम आयोजना गरिएको थियो । सात बुँदाको उद्देश्यमा रहेको साझा घोषण पत्र तयार गरी जारी गर्ने कुरालाई भने अर्को कार्यक्रम मार्फत गर्न सुझाव उपसभामुख दनुवारको थियो । 


