
गाईघाट–विद्युत प्राधिकरणको चरम लापरवाहीमा परी देशकै सबैभन्दा ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योगले सातादिनमा अढाई करोड नोक्सान व्यहोर्नु परेको जनाएको छ ।
उत्पादन र विक्रीका हिसावले उद्योग नाफामै रहेपनि प्राधिकरणबाट नियमित विजुली आपुर्ति नहुदा एक सातामै २ करोड ५० लाख नोक्सान व्यहोर्नु परेको उद्योगका नायब महाप्रबन्धक तथा प्लाण्ट महाशाखा प्रमुख नवलकिशोर साहले बताए ।
उद्योगको बैंक मौजाद अहिलेपनि ५ करोड बढि रहेको साहले बताए । अघिल्लो आर्थिक बर्षमा २५ करोड मुनाफा गरेको उद्योगले यो बर्ष बिद्युत समस्याका कारण सोचेअनुरुप मुनाफा गर्न सक्ने अबस्था नदेखिएको साहले बताए ।
प्राधिकरणले उद्योगलाई २४ घण्टा बिद्युत आपुर्ति उपलब्ध गराउने आश्वसन दिएपनि दैनिक सरदर १५ घण्टाभन्दा बढि उपलब्ध गराउन नसकेको गुनासो उनले गरे । साहका अनुसार उद्योगले गति लिएकै बेला दैनिक १० देखि १२ पटक बत्ति जाने आउने गर्दा ठूलो क्षती हुने गरेको छ । एक घण्टा लाईन जाँदा उद्योगलाई ६ लाख घाटा हुने उनले बताए ।
दैनिक ६ सय ५० टन सिमेण्ट उत्पादन गर्दै आएको उद्योगले अहिले बिद्युत समस्याकैकारण ४ सय टन मात्र उत्पादन गर्दै आएको उनको भनाई छ । लाईन २४ घण्टा आउने हो भने दैनिक १६ हजार बोरा उत्पादन गर्ने उद्योगको क्षमता रहेको साहले बताए । विद्युत आपूर्तिमा देखिएको समस्याको बारे विद्युत प्राधिकरणको उच्च तहमासमेत पटकपटक कुरा भएको तर समस्या समाधान नभएको साहले बताए । २ बर्ष यता कुनै दिन पनि २४ घण्टा विद्युत आपुर्ति हुन सकेको छैन्,’ नायव महाप्रबन्धक साहले भने, ‘लोडसेडिङ बाहेक विद्युत आपूर्ति भैरहेको बेला प्रत्येक २ घण्टाको अन्तरालमा छिन–छिनमा लाईन जान्छ, यसरी जाने लाईन दैनिक ५ घण्टा बढि हुन आउँछ ।’
विद्युतकै कारण सिमेण्ट उत्पादनको महत्वपूर्ण मेसिन मानिने ‘विक्र’ वेला–वेलामा जाने गर्दछ । विक्रमा हिटिङ र कुलिङ हुँदा विक्र खस्ने, फुटने र अन्य उपकरणहरु जल्ने, टुटफुट हुने गर्दछ । एक पटक विक्र जाँदा त्यसको सामान ल्याउँदा र वनाउँदा १५ दिन लाग्ने गर्दछ ।
१५ दिनसम्म उद्योग नचल्दा र त्यो सामान खरीद गर्दा उद्योगलाई झण्डै १० करोड घाटा जाने गरेको उद्योगका नायव महाप्रबन्धक तथा मर्मत तथा आपूर्ति महाशाखाका प्रमुख महेशप्रसाद काफ्ेलले बताए । बिद्युत नियमित सुचारु हुँदा उद्योगले प्रति घण्टा ३५ टन उत्पादन हुने काफ्ेलले बताए । बजारमा दैनिक १५ हजार बोरा सिमेण्टको माग रहेको काफ्लेले बताए ।
उनले पिकआवरमा चलाउने भन्दै २४ घण्टा विद्युत उपलब्ध गराउने शर्तमा उद्योगले सामान्य ग्राहकभन्दा दोब्बर महशुल बुझाउने गरेपनि शर्तअनुसार काम नभएको बताए । बेलुकी ५ बजेदेखि विहान ६ बजेको समयलाई पिकआवर मान्ने गरिएको छ । यस्ता ग्राहकसँग प्राधिकरणले डेलिकेटेड फिडर भन्दै प्रति युनिट १७.५० पैसा लिने गर्दछ । उद्योगले प्राधिकरणलाई मासिक ३ करोड २० लाख रुपिँया महशुल मात्र बुझाउँछ । तर पनि विद्युत नियमित आउन सकेको छैन् काफ्लेले भने ।
वि.स.२०४४ सालमा स्थापित उद्योग संचालनको केही वर्ष राम्ररी संचालनमा आएको भएपनि त्यसपछि भने विभिन्न कारणले प्रभाबकारी ढंगले चल्न सकेको छैन । लोडसेडिङको प्रत्यक्ष मार उदयपुर सिमेन्टले खेप्दै आएको थियो ।