
पूर्णपुष्टि, माघ १४ । देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रूपमा परिचित उदयपुर सिमेन्ट उद्योग गम्भीर आर्थिक संकटमा फसेको छ । गत साउन महिनादेखि कर्मचारीहरूले तलब नपाएका र उद्योग नेतृत्वविहीन अवस्थामा रहेको छ ।
उद्योगका वरिष्ठ कर्मचारी तेजप्रसाद ढकालका अनुसार कच्चा पदार्थको अभावमा गत पौष २० गतेदेखि उत्पादन पूर्णरूपमा बन्द छ । त्यसको चार दिनपछि सिमेन्टको भण्डारण समाप्त भएपछि बिक्री समेत रोकिएको छ ।
कोइला आपूर्तिकर्तालाई मात्रै ३० करोड भुक्तानी बाँकी रहेको र विभिन्न व्यापारी तथा आपूर्तिकर्तालाई थप ४० करोड तिर्न बाँकी रहेको ढकालले बताए । यसैगरी नेपाल विद्युत प्राधिकरणलाई ५५ करोड बक्यौता रहेको छ भने अनिवार्य अवकाश पाएका ८५ जना कर्मचारीको ३० करोड उपदान भुक्तानी पनि बाँकी रहेको छ ।
‘पहिले वार्षिक बोनस पाउने कर्मचारीहरू अहिले मासिक तलबको लागि पनि महिनौं कुर्नुपर्ने अवस्थामा पुगेका छन्,’ ढकालले बताए । अवकाश प्राप्त कर्मचारीहरूले उपदान माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । कोइला र खनिज तेल जस्ता आधारभूत कच्चा पदार्थको अभावमा उद्योग सञ्चालन हुन नसक्ने र पुरानो बक्यौता नतिरेसम्म आपूर्तिकर्ताहरूले नयाँ आपूर्ति नगर्ने अवस्था रहेको छ । यस्तो जटिल आर्थिक अवस्थाबाट उद्योगलाई निकाल्न तत्काल सरकारी हस्तक्षेपको आवश्यकता रहेको कर्मचारीहरूको माग छ ।