पूर्णपुष्टि, २५ भदौ ।
उदयपुर सिमेन्ट उद्योगप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण भएको छ । सर्बपक्षीय, सर्बदलीय मजदुर प्रतिनिधि तथा नेताहरुको एक टोलीले भेटेपछि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण भएको हो ।
“नाफामा जानुपर्ने उद्योग किन धरासायी भयो ?” ध्यानाकर्षणसंगै प्रधानमन्त्री दाहालले मजदुर प्रतिनिधिहरुसंग जिज्ञासा राखेका थिए । नेकपा माओवादी केन्द्र, उदयपुर जिल्ला संयोजक एवम् टोलीको नेतृत्वकर्ता विनोद कटुवाल (दिवस) का अनुसार उनले उद्योगलाई के गर्दा नाफामा जान सकिन्छ भन्ने प्रश्नसमेत गरेका थिए ?
उद्योगको सहि ब्यवस्थापन अभावले उद्योग धरासायी बनेको रिपोर्ट टोलीले गरेको थियो । यसका साथै बर्तमान सार्बजनिक खरिद ऐन, उद्योग सञ्चालन खर्च अभाव जस्ता समस्या जनाएका थिए । सर्बदलीय, सर्बपक्षीय टोलीका सदस्यहरुले सहि ब्यवस्थापक पठाइदिन, नीति नियम संशोधन र तत्काल सञ्चालन खर्चको ब्यवस्थापन गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्दै उद्योगलाई नाफामुलकरुपले सञ्चालन गर्न ध्यानाकर्षण गराएका थिए । टोलीले विद्युत महशुल विवाद बारेसमेत जानकारी गराएका थिए ।
प्रधानमन्त्री दाहालले तत्कालका लागि विद्युत महशुलको विवाद समाधान गरि, बाँकी कामहरु पनि समाधान गर्दै जाने प्रतिबद्धता गरेको नेपाल कारखाना श्रमिक संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष देवेन्द्र झाले बताए । उद्योग सञ्चालन हुने कुरामा प्रधानमन्त्रीसंग आशाबादी रहेको उनले बताए । प्रधानमन्त्रीसंगको भेट फलदायी रहेको उनले बताए ।
उद्योग आर्थिकरुपले धरासायी भएपछि विद्युत महशुलसमेत तिर्न नसक्ने अवस्थामा छ । केही समयअघि महाप्रवन्धक गोपी न्यौपानेले उद्योग सञ्चालन गर्न नसक्ने भन्दै राजिनामा दिएपछि महाप्रवन्धकसमेत रिक्त छ । रिक्त पदपूर्तीका लागि सरकारले नयाँ सुचना जारी गरिसकेको छ ।
उद्योग सञ्चालनमा कुशल ब्यवस्थापक र नेतृत्व अभावले उद्योग धरासायी र विवादित बनिरहने गरेको छ । सरकारले सहि ढंगले सञ्चालन गर्ने भन्दा राजनीतिक भर्तीकेन्द्र बनाउने र भ्रष्टाचारको अखडा बनाउने गरेकाले नाफा कमाउनुपर्ने उद्योग जहिले धरासायी बन्ने गरेको स्थानीय बताउँछन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाको प्रमुख सचेतक गोपी अछामीको समन्वय तथा सहजिकरणमा प्रधानमन्त्रीसंगको भेटघाट सम्पन्न भएको थियो । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत उदयपुर जिल्ला आएका नेता अछामी र मजदुरहरुबीच छलफल हुँदा उद्योगको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निष्कर्ष भएको माओवादी केन्द्रका स्थानीय नेता राधारमण खतिवडाले बताए ।