Sunday, June 15News That Matters

उदयपुर सिमेन्ट उद्योग संचालन गर्न लिईएको ऋणको दुरुपयोग

पूर्णपुष्टि, फागुन २१ ।  उदयपुर सिमेन्ट उद्योग संचालनका लागी अर्थ मन्त्रालयबाट प्राप्त १६ करोड रुपैयाँ ऋणको गम्भीर दुरुपयोग गर्न थालिएको छ । तत्कालीन अध्यक्ष केशव बस्नेतले उद्योगको पुरानो मेसिन मर्मत र नयाँ मेसिनरी खरिदका लागि मिति २०८० माघ १६ गते ल्याएको ऋण उद्योग व्यवस्थापनले दुरुपयोग गर्न थालेको छ ।

उक्त ऋण रकम उद्योग सन्चालक समितिबाट निर्णय गराइ पुजीगत शिर्षकमा मेसिन मर्मत सुधारमा मात्र प्रयोग हुने सुनिश्चितता गरेर मात्र खर्च गर्नुपर्ने अर्थको सर्त बिपरित उद्योग ब्यबस्थापनले अन्य शिर्षकमा खर्च गरेर ऋण रकमको दुरुपयोग गर्न सुरु गरेको छ । केही दिनअघि मात्र एक स्थानीय आपूर्तिकर्तालाई ९० लाख ६० हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यस्तै, आपूर्तिकर्ताले सप्लाई गरेका सामग्रीहरू उद्योग गोदाममा थन्किएको कर्मचारीहरु बताउछन् । प्राप्त ऋणबाट बन्द उद्योग सन्चालन गर्नको साटो उद्योग ब्यबस्थापनले कमिसन पाउने लोभमा आपूर्तिकर्ताहरुलाई सोही रकम बाट भुक्तानी दिन थालेको छ ।

उद्योग सन्चालक समितिका तत्कालीन अध्यक्ष केसब बस्नेतले पुरानो मेसिन मर्मत र आबस्यक अन्य मेसिन खरिद गरेर उद्योग दीर्घकालीन रूपमा सन्चालन गर्न आफूले निकै मेहनत गरेर अर्थ मन्त्रालयबाट १६ करोड रुपैया ऋण ल्याएको बताएका छन् । अर्थ मन्त्रालयले राखेका शर्तहरू पूर्ण रूपमा पालना नगरि उद्योग व्यवस्थापनले  केवल पुरानो बक्यौता तिर्ने मात्र योजना बनाएको र ऋण रकम अनावश्यक रूपमा खर्च गरी उद्योगलाई बन्द गराउने प्रयास गरिरहेको उनले बताए ।

अर्थ मन्त्रालयले उद्योगलाई ऋण दिँदा ११ वटा कडा शर्तहरू राखेको थियो । ऋण रकम केवल मेसिनरी मर्मत र खरिदमा मात्र खर्च गर्न पाइने, अन्य शिर्षकमा खर्च गर्नु पर्दा मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने, १० वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने र वार्षिक ७ प्रतिशत ब्याज तिर्नुपर्ने जस्ता शर्तहरू थिए ।

उद्योग लामो समयदेखि बन्द रहेका कारण उपभोक्ता र कर्मचारीहरू दुवै गम्भीर रूपमा प्रभावित भएका छन् । निजी सिमेन्ट कम्पनीहरूले मूल्य वृद्धि गरेका छन् भने कर्मचारीहरू ६ महिनादेखि तलब बिना काम गर्न बाध्य छन् ।