Monday, February 17News That Matters

उदयपुर सिमेन्ट उधोगको बैंक काउन्टर नियमित रुपमा संचालन नहुँदा सोवाग्राही सेवाबाट वञ्चित

पूर्णपुष्टि, माघ १० । जलजलेस्थित उदयपुर सिमेन्ट उधोगको परिसरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको काउन्टर नियमित रूपमा सञ्चालन नहुँदा स्थानीय सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । हाल बैंकले साताको मात्र दुई दिन काउन्टर खोल्ने गरेको छ, जसले गर्दा स्थानीय बासीहरूले बैंकिङ सेवा लिन कठिनाई भोग्नुपरेको छ ।

सोमबार बिहान १० बजेदेखि ग्राहकहरू बैंक कार्यालय अगाडि जम्मा भएका थिए । तर मुल गेट बन्द रहेपछि उनीहरू ७ किलोमिटर टाढाको गाईघाट शाखामा कारोबार गर्न बाध्य भए । सुरक्षाकर्मीले कर्मचारी नआएको कारण गेट नखुलेको र काउन्टर बन्द रहेको जानकारी दिए ।

उद्योगका कर्मचारी तेज प्रसाद ढकालले बैंक कर्मचारीहरूको लापरवाही र गैरजिम्मेवारीको आरोप लगाए । उनका अनुसार, कम्तीमा बाहिरी कम्पाउण्डमा सूचना टाँस्न सकेमा सेवाग्राहीलाई असुविधा हुने थिएन ।

राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाका प्रबन्धक कृष्ण गोइतले उद्योगमा बैंकिङ कारोबार कम भएकोले साताको दुई दिन मात्र काउन्टर खोल्ने गरेको बताए । उनले कारोबार पुनः बढेमा नियमित रूपमा काउन्टर खोल्ने आश्वासन दिए ।

बैंकले केही वर्ष अघि उद्योग परिसरमा काउन्टर खोलेको थियो, जसबाट जलजले, देउरी र मोहनपुर क्षेत्रका ग्रामीण बजारका सेवाग्राहीहरूले सेवा लिँदै आएका थिए । हाल त्यही काउन्टर नियमित रूपमा सञ्चालन नहुँदा स्थानीय बासीहरू समस्यामा परेका छन् ।