
पूर्णपुष्टि/उदयपुर, मंसीर २१ गते ।
प्रतिनिधि/प्रदेश सभाको बिहिबार (आज) सम्पन्न मतदानमा उदयपुरबाट ६१ प्रतिशत मत खसेको छ । १ लाख ९३ हजार ९१३ मतदाता रहेको उदयपुरमा गत स्थानीय तहको दाँजोमा १२ प्रतिशतले कमी हो । । मतदाताहरुमा स्थानीय तहको दाँजोमा यो निर्बाचनमा उत्साह देखिएन । तथापी, मतदान कार्य शान्तिपूर्ण र भयरहितढंगले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो ।
२ प्रतिनिसभा र ४ प्रदेशसभाका लागि उदयपुरमा भएको निर्वाचनमा ९८ स्थानमा २३३ मतकेन्द्रबाट मतदान भएको थियो । मतदानमा पुरुषभन्दा महिलाको संख्या बढि देखिएको छ । जसमा ५५ हजार १ सय ८६ पुरुष तथा ६२ हजार २ सय ५३ जना महिला र एकजना तेस्रो लिंगी गरी एकलाख १७ हजार ४४० जनाले मतदान गरेको सुरक्षास्रोतले जनाएको छ ।
जसमा पुरुष, महिला र अशक्तहरुका लागि छुट्टाछुट्टै व्यवस्था मिलाईएको थियो । सबै मतकेन्द्रमा समयमै मतदान कार्य सुरु भएको थियो । मतदानमा बृद्धबृद्धा, अपांगदेखि क्रियापुत्रीले समेत भाग लिएका थिए । पाँचदिनदेखिको क्रियापुत्री बसेका त्रियुगा नगरपालिका ११ गाईघाटका ५७ बर्षिय जगदीश साहले त्रियुगा उमावि गाईघाट केन्द्रबाट मतदान गरे । त्यस्तै त्रिनपा ८ स्थित कालिखोला माविकेन्द्रबाट क्रियापुत्री बसेका गणेशबहादुर मगर, गंगा मगर, जालबहादुर मगर, होमबहादुर मगर, प्रकाश मगरले पनि मतदान गरेका थिए ।
प्रतिनिधिसभा क्षेत्र नं. १ का बाम गठबन्धनतर्फका उम्मदेवार नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले त्रियुगा नगरपालिका १२ पुरानोगाईघाट स्थित जनता मावि केन्द्रबाट विहान ७ बजे सुरुमै मतदान गर्नुभयो भने नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार डा. नारायण कार्कीले बेलका नगरपालिका ७ स्थित डुडखोला निमाविबाट विहान ८ :३० बजे मतदान गनुभयो ।
त्यस्तै क्षेत्र नं. २ मा बाम गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई (हिमाल) ले बेलका नगरपालिका ४ स्थित गुरुङचौरी उमाविबाट विहान ७ :३० बजे मतदान गर्नुभयो भने नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नारायणबहादुर कार्की एम्बुसमा घाइते भई उपचारार्थ काठमाडौं रहनुभएकोले मतदानमा सहभागि हुन सक्नु भएन ।
मतदान कार्य सम्पन्न पश्चात खसेको मतपत्रको सुरक्षासहित मतपेटीकामा लाहा छाप गरी गणनास्थलतर्फ पठाउने क्रम रहेको छ । सदरमुकामभित्र र आसपासका ठाउँबाट आजै आइसक्ने तथा टाढा र दुर्गमबाट भने भोली विहानसम्ममा आइसक्ने जनाइएको छ ।
यसैबीच बिहिबार मतदानको बेला जिल्लाको दुई ठाउँमा बम विष्फोट भयो भने एक ठाउँमा सेनाले निस्कृय पार्यो । स्थानीयहरुका अनुसार रौतामाई गाउँपालिकाको मुर्कुची र लाफागाउँ बम विष्फोटका आवाज सुनिएको बताए । उता कटारी नगरपालिकाको उममेयर भीमकुमारी राउतको घरमा राखिएको बम नेपाली सेनाले निस्कृय पारेको छ । विहानै संकास्पद अवस्थामा देखिएको बम मतदान कार्य सकिएपछि मात्र निस्कृय पारिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बम विष्फोटको आवाज सुनिए पनि मतदान केन्द्रहरुमा असर पुग्ने गरी काही घटना नभएको बताउनुभयो ।