
पूर्णपुष्टि, फागुन २९ । जनाता समाजवादी पार्टीकी प्रमिला यादवले उपराष्ट्रपतिको उम्मेदवारी फिता लिएकी छन् । उनले उम्मेदवारी फिर्ता लिएर आफ्नै पार्टीका रामसहाय यादवलाई समर्थन गर्ने भएकी छन् ।
राष्ट्रपतिमा पुरुष निर्वाचित भएको कारण उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै रामसहाय विरुद्ध एमालेकी लक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले शनिबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिएन् । आईतबार निर्वाचन आयोगले रामसहायको उम्मेदवारी कायम गर्ने निर्णय गरेको थियो भने त्यसको भोली पल्ट प्रमिला यादवले वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।
‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यहरुलाई अपील गर्दछु ’ उनको वक्तव्यमा उल्लेख गरिएको छ ।
शनिबार बिहान बसेको सत्तारुढ १० दलको बैठकले जसपालाई दुई (महिला र पुरुष) उम्मेदवार गर्न अनुमति दिएको थियो । २५ फागुनमा जसपाले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर निर्वाचन आयोगले पुरुष (रामचन्द्र पौडेल) राष्ट्रपति भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य उम्मेदवार हुनुपर्ने तर्क गरेपछि जसपा झस्कियो । त्यसकारण जसपाले प्रमिला यादवालाई पनि उम्मेदवार बनाएको हो । जसपा नेताहरुका अनुसार अब भोलि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने छ र रामसहाय यादव नै आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ ।
