Sunday, June 21News That Matters

एउटै गाउँका ७ कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि, जेष्ठ ५ 

महोत्तरीमा एकै गाउँका ७ संक्रमितले ज्यान गुमाएको छ । जिल्लाको पिपरा गाउँपालिका–७ मा पर्ने बनौली गाउँमा विगत् १५ दिनभित्र सातजनाको मृत्यु भएपछि सो गाउँभर त्रास फैलिएको छ । स्थानीय वैद्यनाथ चौधरीका अनुसार गाउँको एउटै जातिका ६ र अन्य जातिका एक गरी सातजनाको मृत्यु भइसकेपछि अहिले सो गाउँका सम्पूर्ण बासिन्दा भयपूर्ण जीवन बिताइरहेका छन् ।

सो गाउँमा मृत्यु भोज, विवाह भोज र व्रतबन्ध भोजजस्ता कार्यक्रमहरू भइरहेको र सयौँको सङ्ख्यामा मानिसहरु एकै थलोमा बसेर भोजभतेर खाने गरेको पाइएको छ । कोरोनाकै कारण विभिन्न अस्पतालमा मृत्यु भएकाहरुको पनि गाउँमा दाहसंस्कारदेखि श्राद्ध कर्म भइरहेको र सो क्रममा भोजभतेर र सयौँ मानिस एकै ठाउँमा जमघट हुने गरेका छन् । यसका अलावा कोरोना महामारीकै बीचमा गाउँभरि अहिले व्रतबन्ध र विवाह जस्ता कार्यक्रम पनि भइरहेको वडाध्यक्ष रुपेश झाले स्वीकार गरे ।

वडाध्यक्ष झाले आफू गाउँलेहरूलाई भीडभाड नगर्न, भोजभतेर नगर्न, विवाह, व्रतबन्धजस्ता शुभकार्यमा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पूरा गर्न भनिरहँदा पनि गाउँलेहरु आफ्नो परम्परा र संस्कार भन्दै बेवास्ता गर्दै सबै क्रियाकलापहरू सञ्चालन गर्ने गरेको बताए ।