Saturday, May 17News That Matters

एकै डोरीमा झुन्डिए विवाहित जोडी

पूर्णपुष्टि, फागुन २० । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज बिहान एक जोडी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारको पिठारीको रुखमा २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी हस्ता एकै डोरीमा पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरियाका अनुसार, मृतक दुवै विवाहित थिए । जुबामुनीका पति वैदेशिक रोजगारीमा विदेशमा रहेको र उनको एक वर्षको छोरा रहेको प्रहरीले जनाएको छ । त्यसैगरी अजयका पनि दुई छोराछोरी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार अजयले जुबामुनीलाई आइतबार राति आफ्नै घरमा लगेका थिए । सोमबार बिहान उनीहरू घरबाट हिँडेका र मंगलबार बिहान रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धका कारण उत्पन्न समस्याले दुवैले सल्लाहमै आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।