
पूर्णपुष्टि, साउन ११ । महोत्तरीको एनएमबि बैंकमा लुटपाट गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बैंक लुटपाट गरेको आरोपमा विहार राज्य मधुबनीका २० वर्षीय अजयकुमार साफीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थितमा रहेको एनआईबी बैंकबाट रु १५ लाख लुटपाट गरेको घटनामा साफी संलग्न थिए । बैंकमा छिरेको चार–पाँच जनाको एक नकाबधारी समुहले बैंकका कर्मचारी तथा सेवाग्राहीलाई कब्जामा लिएर लुटपाट गरेका थिए । बैंकबाट लुटपाट गरी नम्बर नखुलेको मोटरसाइकलमा फरार भएकामध्ये साफीलाई बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको पहिचान भईसकेको र चाँडै नै पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । पक्राउ परेका साफीमाथि हातहतियार र चोरी डाँका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।