Monday, May 11News That Matters

एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने ३ जना पक्राउ

पूर्णपुष्टि, चैत २९ गते । 

चितवनमा एम्बुलेन्सको प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने तीन जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२ जुन हल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १ सय ८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा लागुऔषध मगाउने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिएर बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ ।

विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना ओर्लेर गएकामा केही समयमा आएर बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।