Tuesday, March 25News That Matters

एम्बुसमा उम्मेदवार गम्भिर घाइते, हेलिकेप्टरबाट उपचारमा लगियो

पूर्णपुष्टि/उदयपुर, मंसीर १३ गते ।

अज्ञात समुहले विछ्याएको एम्बुसमा परी नेपाली कांग्रेस उदयपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार नारायणबहादुर कार्कीसहित चारजना गम्भिर घाइेत भएका छन् ।
उम्मेदवार कार्कीसहित ९ जना चढेको बा १५ च ७८०६ नम्बरको एसकारपीयो जीप उदयपुरगडी गाउँपालिका वडा नं. ६ को दनुवारबेसीमा सडकमा विछ्याएको एम्बुसमा पर्दा अन्य तीनजना पनि घाइते भएका छन् । दुईजना भने सकुशल रहेको जनाइएको छ ।

गम्भिर घाइतेहरु उम्मेदवार कार्की, चालक राजन कार्की, कार्यकर्ता मिरा कटुवाल र स्थानीय धनमाया धौलाकोटीलाई उपचारार्थ हेलिकेप्टरबाट काठमाडौं लगिएको छ । त्यस्तै घाइते पत्रकार नवराज पौडेल, प्रहरी हवल्दार कृष्ण श्रेष्ठ, कार्यकर्ता कृष्ण थापा लगायतलाई पनि हेलिकेप्टरबाटै उपचारार्थ काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको छ ।
तार टांगेर सडकमा राखिएको शक्तिशाली एम्बुस जीपको अघिल्लो भागमा विष्फोट भएकोले अगाडी रहेका चालक, उम्मेदवार कार्की र कार्यकर्ता कटुवाललाई सबैभन्दा बढि चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको खुट्टामा बढि चोट लागेको छ ।

कांग्रेसको चुनावी प्रचारको क्रममा कटारीबाट नेपालटारतर्फ जाने क्रममा उक्त विष्फोट भएको थियो । घटनाको खबर लगत्तै स्थानीय प्रशासनले स्थानीय प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरीको उद्धारटोली खटाउनुका साथै स्थानीय स्वास्थ्य चौकी र नेपाली सेनाको स्वास्थ्य टोलीलाई प्राथमिक उपचारका लागि खटाएको थियो ।

उदयपुरमा केही दिन यता श्रृङ्खलाढंगले बम विष्फोटका घटना भइरहेका छन् । यो घटनाले निकै भयाबहको स्थिति सिर्जना गरेको छ । अघिल्लो दिनमात्र नेपाली कांग्रेसका प्रदेश उम्मेदवार हिमाल कार्कीको घरसंगै जोडीएको गोठमा विष्फोट गराउदा दुई चौपायालाई चोट लागेको थियो । भने सोही दिन नेपाली कांग्रेस उदयपुर क्षेत्र नं. १ क प्रतिनिधिसभा उम्मेदवार डा. नारायण खड्कालाई लक्षित गरी कुकर बम विष्फोट भएको थियो । त्यसअघि बाम वठबन्धनतर्फका प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश राई (हिमाल) लाई लक्षित गरी बम विष्फोट भएको थियो ।

अघिल्लो विष्फोटहरुले क्षती नदेखिएकाले निर्वाचन विरोधी समुहले तर्साउने हर्कत गरकेो ठानिए पनि पछिल्लो घटनामा उम्मेदवारलाई नै एम्बुस पड्काए पछि स्थिती गम्भिर र भयावह बनेको स्थानीयहरु बताउछन् ।

घटनालाई जिल्ला स्थित राजनीतिक दलहरुले अत्यन्तै निन्दनीय भनेका छन् । घटनालाई नेपाली कांग्रेसले गम्भिररुपमा लिएको चुनाव प्रचारप्रसार संयोजक मदन कटुवालले बताउनु भयो । उहाले प्रशासनको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाउदै सरक्षा व्यवस्था कडा पार्न माग गर्नुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष इश्वरमणी राउतले घटना निन्दनीय रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउनु पर्ने बताउनुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिवस कटुवालले घटनालाई निर्बाचन भाड्ने षड्यन्त्र भएको भन्दै सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताए ।

घटनापछि जिल्लामा सुरक्षा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताउनुभयो । सुरक्षा समितिको बैंठकबसी भरपर्दो सुरक्षा रणनीति अपानाउने र सबै ठाउँमा थप सुरक्षाकर्मी खटाइ सुरक्षा व्यवस्था मजबुद पारिने बताउनुभयो । सबै उम्मेदवार र चुनावी कार्यक्रमा सुरक्षा प्रदान गरिने उहाँले बताउनुभयो ।