
पूर्णपुष्टि, माघ २१ । भारतीय कम्पनी एयरटेललाई तिर्नुपर्ने करिब ६ अर्ब रुपैयाँको इन्टरनेट ब्याण्डविथ शुल्क भुक्तानीमा सरकारले अवरोध गरेपछि आइतबार साँझ ८ बजेदेखि देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु र भायानेट लगायतका प्रमुख सेवा प्रदायकहरूको सेवा प्रभावित भएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।
नेपालको कुल इन्टरनेट ब्याण्डविथको ७० प्रतिशत हिस्सा ओगट्ने एयरटेलले विगत दुई वर्षदेखि भुक्तानी नपाएको कारण पटक–पटक सेवा अवरुद्ध गर्ने गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस रोकेको हो ।
इन्टरनेट सेवा प्रदायकहरूको भनाइमा मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने र यसमा रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष शुल्क लाग्न नसक्ने स्पष्ट कानुनी व्यवस्था छ । निजी सेवा प्रदायकहरूलाई विभेदकारी व्यवहार गरिएको र सरकारी सेवा प्रदायकले सोझै विदेशी मुद्रा सटही गर्न पाउने तर निजीलाई रोक लगाइएको आइएसपानको आरोप छ ।
इन्टरनेट सेवा प्रदायकहरूले लाइसेन्स नवीकरण, ब्याण्डविथ खरिद रकम भुक्तानीको सिफारिस र कर सहजीकरणको माग गरेका छन् । समयमै समस्याको समाधान नभए देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने आइएसपानको चेतावनी छ । डिजिटल नेपाल अभियानमा समेत यसले नकारात्मक असर पार्ने सेवा प्रदायकहरूको भनाइ छ ।