Friday, July 11News That Matters

एसईई विद्यार्थीहरूको जैविक तरकारी खेतीले फल्यो आम्दानी

पूर्णपुष्टि, असार ६ ।  उदयपुरको कटारी नगरपालिका वडा नं. ४ स्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो परीक्षाको तयारीसँगै जैविक तरकारी खेतीमा पनि सफलता हासिल गरेका छन् । प्राविधिक धारका एसईई परीक्षार्थी विद्यार्थी सिमाना खत्रीसहित ४० जना विद्यार्थीहरूले विद्यालयको १५ कट्ठा जग्गामा जैविक तरकारी खेती गरेर उत्साहजनक परिणाम पाएका छन् ।

विद्यार्थीहरूले पूर्णतः जैविक (अर्गानिक) विधिबाट तरकारी उत्पादन गरेका छन् । “हामीले कुनै पनि रासायनिक मल प्रयोग गरेनौं । कीराजन्तु नियन्त्रणका लागि पनि रसायनको सट्टा परम्परागत विधि प्रयोग गर्‍यौं,” एसईई परीक्षार्थी सिमाना खत्रीले बताइन् । उनले थप्दै भनिन्, “हाम्रो तरकारी उत्पादन त राम्रो भएको छ तर बजार पाउन भने कठिनाइ भइरहेको छ ।” विद्यार्थीहरूले हाल मिलजुलेर आफ्नो उत्पादन स्थानीय बजारमा लगेर बिक्री गर्ने गरेका छन् ।

“थोकमा किन्ने व्यापारीहरूले धेरै सस्तोमा माग गर्छन् । तर हाम्रो तरकारी गुणस्तरीय र स्वास्थ्यका लागि हितकारी छ,” विद्यालयका बाली विज्ञान विषयका संयोजक कैलाश रायमाझीले बताए । उनले भने, “खेती प्रविधि हेर्न र तरकारी किन्न अभिभावकहरू सिधै विद्यालयमा आउन सक्नुहुन्छ ।”

यो परियोजनाका लागि कृषि ज्ञान केन्द्र उदयपुरले ‘सिकाउँदै कमाउँदै’ कार्यक्रम अन्तर्गत एक लाख ५० हजार रुपैयाँ अनुदान प्रदान गरेको थियो । विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले भने, “हामीले विद्यार्थीहरूलाई निःशुल्क जग्गा उपलब्ध गरायौं र यसबाट हुने आम्दानी उनीहरूले नै पाउने व्यवस्था मिलाएका छौं ।” प्रधानाध्यापक कार्कीले प्राविधिक शिक्षाको महत्त्वलाई उजागर गर्दै भने, “यसैमा प्राविधिक शिक्षाको सार्थकता छ । विद्यार्थीहरूले विद्यालयबाटै काम गर्न, आम्दानी लिन र बिक्री गर्न सिक्छन् ।”

अनुदानको सहयोगमा भिण्डी, काँक्रा, तितेकरेला, लौका, फर्सी र तनेबोडी लगायतका तरकारीहरूको खेती गरिएको छ । यस कार्यक्रमलाई एसईई पछि दिइने प्रयोगात्मक सिकाइ (ओजेटी)सँग जोडिएको छ । एसईई परीक्षामा सहभागी भएका ४० जना विद्यार्थीले प्रयोगात्मक अंकसँगै नगद तीन हजार रुपैयाँ पाउनेछन् । तरकारी खेतीबाट प्राप्त आम्दानी भने प्रत्यक्ष काममा संलग्न भएका १५ जना विद्यार्थीहरूले बाँडफाँड गरेर पाउनेछन् ।

विद्यार्थीहरूले उत्पादन गरेका सबै तरकारीहरू बिक्री भएपछि दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने लक्ष्य राखिएको छ । “मुख्य समस्या भनेको बजारमा अन्यत्रबाट आउने तरकारीसँगको प्रतिस्पर्धा हो,” विद्यार्थी समिर अधिकारीले बताए ।

उनले थप्दै भने, “हाम्रो तरकारी किन्न अभिभावकहरू विद्यालयमै आउन सक्नुहुन्छ ।” कटारी बजारसँगै रहेको यस विद्यालयमा अभिभावक र स्थानीयवासीहरूले तरकारी बोटमै किन्न सक्ने व्यवस्था मिलाइएको छ । यस विद्यालयका विद्यार्थीहरूले यसअघि च्याउ खेती र फूल खेतीबाट पनि उत्साहजनक आम्दानी गरेको इतिहास छ । यसले विद्यार्थीहरूको व्यावहारिक सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

यस विद्यालयमा कृषि धारमा अध्ययन गर्न चाहनेहरूको संख्या बढ्दै गएको छ । ४८ जनाको मागसंख्यामा विद्यालयले प्रवेश परीक्षा उत्तीर्ण गर्नेहरूलाई मात्र भर्ना गर्ने गरेको छ । यो परियोजनाले न केवल विद्यार्थीहरूको आर्थिक अवस्था सुधारमा मद्दत गरेको छ बल्कि उनीहरूलाई व्यावहारिक ज्ञान र सीप प्रदान गरेर भविष्यका लागि तयार पारेको छ । प्राविधिक शिक्षाको यस्तो व्यावहारिक उदाहरणले अन्य विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।