
पूर्णपुष्टि, माघ ५ गते ।
स्थानीय सरकार सञ्चालन कार्यविधीका बारेमा जनप्रतिनिधि नै अनविज्ञ रहँदा जनताका कामकारवाही प्रभावित बनेकाछन् । जनप्रतिनिधिको क्षमता अभिबृद्धी नहुँदा बनेका ऐन, कानुन कार्यन्वयनमा जटिलता र जनतासँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुन निर्माण नहुँदा कामहरु प्रभावित बन्ने गरेका हुन् ।
देश संघिय संरचना गएपनि स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई नयाँ संरचनाका बारेमा पूर्ण जानकारी नहुँदा कामकारवाहीमा समस्या उत्पन्न भएको भन्दै चौतर्फीरुपमा जनप्रतिनिधिहरुले आलोचना खेप्नु परेको छ । यसकासाथै कार्यान्वयनको प्रारम्भिकचरणमा रहेको संघियता व्यवस्थालाई सहज बनाउन र टिकाई राख्नका लागि उनीहरुको क्षमता अभिवृद्ध नगर्ने हो भने जनताका कामकारवाही अझ प्रभावित हुने देखिन्छ ।
यसैशिलशिलामा कानुनी प्रावधानका बारेमा जनप्रतिनिधिलाई जानकारी दिने उदेश्यले जिल्लामा पहिलोपटक रौतामाई गाउँपालिकाले स्थानीय सरकार सञ्चालन, सकारात्मक सोच तथा स्वयंम विकास सम्बन्धी ५ दिने आधारभूत तालिमको आयोजना गरेको छ ।
कानुनका कतिपय बुँदाका बारेमा जानकारी नहुँदा र त्यसको व्याख्या गर्न नजान्दा कामकारवाहीमा नै समस्या आउने भएकाले त्यसलाई सहज बनाउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वरिष्ठ सदस्य र कर्मचारीलाई लक्षित गरी तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
तालिममा स्थानीय सरकार सञ्चालन कार्यविधि, स्थानीय सरकारको काम, कर्तव्य र अधिकार, वजेट व्यवस्थापन, योजना तर्जुमा, कानुनी अडचन, सहजता, संघियता कार्यान्वयन सम्बन्धी विश्वको इतिहास, नेपालको परिवेश जस्ता बिषयलाई मुख्य बिषयबस्तु बनाईने अध्यक्ष खड्काले बताए ।
उनले संघिय मन्त्रालयले अध्यक्ष र उपाध्यक्षलाई लक्षित गरी केहि दिन अघि दिएको तालिम अपुग भएकाले तल्लो तहका जनप्रतिनिधिलाईसमेत पुग्ने गरी गाउँपालिकाको आयोजनामा तालिम आयोजना गरिएको हो । गाउँपालिका केन्द्रमा भुट्टारमा आयोजित तालिमको सहजिकरण स्थानीय सरकार सञ्चालन कार्यविधीका मस्यौदाकार एवंम नेकपा एमालेका पुर्वसभाषद रेवतीरमण भण्डारी, विज्ञहरु प्रकाश पोखरेल र रामप्रसाद पोखरेलले दिएकाछन् ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि भण्डारीले बनेका ऐन, कानुनलाई जनतासँग प्रत्यक्ष सरोकार रहने गरी सहजरुपले व्याख्याविश्लेषण गरी काम गर्न सुझाब दिए । उनले स्थानीय तह सञ्चालन सम्बन्धी कानुनहरु पूर्ण भई नसकेकाले जनप्रतिनिधिलाई केहि हदसम्म कामकारवाही गर्न असहज भएको बताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले कानुन कार्यान्वयलाई प्रभावकारी ढंगले अगाडी बढाउन सुझाब दिए । उनले कानुनी जटिलता र ऐन नियम बनिनसकेको वहानामा जनताका कामकारवाहीलाई अल्झाउन नहुने जिकिर गरे ।
गाउँपालिकाका उपाध्यक्ष कुमारी राना ज्यु ठकुरीले स्थानीय तह सञ्चालन निर्देशकामा थुप्रै कानुनी जटिलता रहेको औल्याईन् । उनले कानुनलाई समातेर कामकारवाही गर्ने हो भने जनताका सामान्य कामहरु पनि गर्न गार्हो हुने बताए ।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रकाशसकिय अधिकृत युवराज आचार्यले प्रारम्भिकचरणमा रहेको व्यवस्थालाई सहज बनउन केहि समय लाग्न बताए । उनले कानुनी जटिलताका विच पनि जनताका कामकारवाहीलाई सहज बनाइएको बताए ।