पूर्णपुष्टि, पुष २९ । ओखलढुंगाको सुनकोशी गाउँपालिका ८, स्थित आमभोटेमा एक घरमा आगलागी हुँदा घर जलेर पूर्णरुपले नष्ट भएको छ । शुवारबार करिव १० बजे स्थानीय जानुका मगरको घरमा आगलागी भएको हो ।
घरमा आगलागी हुँदा झन्डै ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । दासका अनुसार २ तल्ले फुसको छाना भएको घर, लत्ताकपडा र अन्नपात जलेर नष्ट भएको बताएको छ । घरको विद्युत अचानक सट् भएर आगलागी भएको प्रहरीको अनुमान छ ।
आगलागी भएको झन्डै डेढ घण्टापछि नजिकैको प्रहरी, स्थानीयबासी र जनप्रतिनिधि त्यहाँ पुगेर आगो पूर्ण रुपमा नियन्त्रणमा लिन सफल भएका थिए । आगलागीमा परी कुनै मानवीय तथा पशुचौपायमा क्षति नभएको प्रहरीले जनाएको छ ।
