
पूर्णपुष्टि, माघ १७ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका स्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बिहीबार बिहान फेला परेको दुर्घटनाग्रस्त सुमोमा खोटाङबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामी र उनका आफन्तहरू सवार थिए ।
जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाका अनुसार दुर्घटनामा बिरामी ५६ वर्षीया माया देवी गुरुङ, उनका २८ वर्षीय छोरा पुजन गुरुङ र ४५ वर्षीया बहिनी तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो । खोटाङको केपिलासगढी गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको सुमोमा चालक सहित चार जना मात्र सवार रहेको बताइएको छ ।
स्थानीयवासीका अनुसार दुर्घटना राति नै भएको हुनसक्ने र बिहान करिब ६स्३० बजे मात्र सुमो दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनापछि सुनसरीको इनरुवा निवासी २२ वर्षीय चालक अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । उपचारका लागि बिरामी मायालाई छोरा र बहिनीले काठमाडौं लैजाँदै गर्दा यो दुर्खद घटना भएको हो ।