
पूर्णपुष्टि, असोज १ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले पृथ्वीको ओजोन तहमा सुधार भइरहेको जानकारी दिएको छ। विश्व ओजोन दिवसको अवसरमा सार्वजनिक गरिएको एक नयाँ अध्ययनले यो तथ्य उजागर गरेको हो।
ओजोन तह पृथ्वीको एक महत्वपूर्ण रक्षा कवच हो, जसले सूर्यबाट आउने हानिकारक अल्ट्राभायोलेट किरणबाट जीवनलाई सुरक्षित राख्छ। विगतमा यो तह पातलिँदै गएको थियो, तर अहिले यसमा सुधार देखिएको छ। डब्ल्यूएमओका अनुसार, ओजोन तहको यो सुधार १९८० को अवस्थासम्म पुग्न सक्ने सम्भावना छ।
अन्टार्कटिका क्षेत्रमा पनि ओजोन तहमा सुधार देखिएको छ। तर यहाँ पूर्ण सुधार हुन २०४५ सम्म र अन्य क्षेत्रमा २०४० सम्म लाग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, वातावरणीय परिवर्तनहरूले यस सुधारलाई प्रभावित पार्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ओजोन तहमा देखिएको सुधारलाई स्वागत गर्दै यसको संरक्षणका लागि निरन्तर प्रयास जारी राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले मोन्ट्रियल प्रोटोकल र किगाली सम्झौता कार्यान्वयन गर्न तथा हाइड्रोफ्लोरो कार्बन (एचएफसी) जस्ता हानिकारक ग्यासहरूको प्रयोग चरणबद्ध रूपमा हटाउन जोड दिएका छन्।
ओजोन तह संरक्षणका लागि सन् १९८७ मा क्यानडाको मोन्ट्रियलमा एक अन्तर्राष्ट्रिय सन्धि भएको थियो। मोन्ट्रियल प्रोटोकल नाम दिइएको यो सम्झौतालाई हाल १९६ देशले मान्यता दिइसकेका छन्। यसपछि सन् २०१९ मा रुवान्डाको राजधानी किगालीमा थप संशोधन गरिएको थियो, जसलाई किगाली सम्झौता भनिन्छ।
वैज्ञानिकहरूको विश्वास छ कि यदि यी अन्तर्राष्ट्रिय सम्झौताहरू पूर्णरूपमा पालना गरिए, सन् २०५० सम्ममा ओजोन तह पूर्ण रूपमा पुनर्स्थापित हुन सक्नेछ। यसैले, ओजोन तहको संरक्षण र जलवायु परिवर्तन रोक्नका लागि निरन्तर प्रयास र सतर्कता आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
