
पूर्णपुष्टि, चैत्र २५ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) उदयपुरले आफ्नो ३४ औँ स्थापना दिवस सोमबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
त्रियुगा नगरपालिका वडा नं. ९ राजावास स्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका उप–मेयर महेश्वरी राईको प्रमुख अतिथिमा स्थापना दिवस मनाएको हो । उपमेयर राईले पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गर्दै महिला हिंसा विरुद्धको अभियानमा ओरेकले पुर्याएको योगदान अतुलनीय रहेको बताईन् । स्थानीय सरकारले पनि महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ र नगरपालिका यस्ता संस्थाहरूसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताईन् ।
महिला पुनर्स्थापना केन्द्र उदयपुरकी अध्यक्ष बाला कार्कीले २०४७ साल चैत्र १९ गते स्थापित ओरेक उदयपुर महिला अधिकारप्रति समर्पित एक गैरसरकारी संस्था रहेको बताइन् । उनका अनुसार संस्थाले स्थापना कालदेखि नै सामाजिक न्याय र महिला अधिकार स्थापनाका लागि अभियान सञ्चालन गर्दै आएको छ ।
‘शिक्षा, स्वास्थ्य, पोषण लगायत अन्य क्षेत्रमा महिला र बालबालिकामाथि हुने भेदभाव, मानव बेचबिखन, ओसारपसार तथा महिलाहरूको आधारभूत मानव अधिकारको हननको अन्त्य गर्नका लागि महिलाहरूको विशिष्ट अधिकार सुनिश्चित गर्नुपर्दछ भन्ने मान्यता यस संस्थाको रहेको उनले बताईन् । कार्यक्रममा संस्थाले विगत वर्षभरि गरेका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।