
आशि वस्नेत
पूर्णपुष्टि, असार ९
कटारी / सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी २ को गिद्धबरदेखि कटारी ३ को गुम्बाडाँडासम्म ५ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । कालोपत्रे कामकै लागि सडक आसपास सडकको माटो मिलाउने कामहरु सुरु गरिएको छ । सडक डिभिजन कार्यालय सिरहा लहानबाट प्राप्त भ्याट सहित ५ करोड ३० लाखको लागतमा आईएस एनबी विल्डर्स प्रालि ज्वाईन्ट भेन्चर वल्र्डवाईडले ३६ मिटर ड्रेन सहितको सडक कालोपत्रेको काम सुरु गरेको हो ।
गएको जेठ १५ देखि एकवर्ष सम्ममा काम सक्नुपर्ने ठेकेदार कम्पनीका साईड ईन्चार्ज मनोहर पासवानले बताए । सडकको काम अन्र्तगत सबवेसको कामसँगै सडक लेभल गर्ने काम भईरहेको पनि पासवानले बताए । एकवर्ष भित्रमा सक्नुपर्ने काम समय अगावै सक्ने गरी कामलाई तिव्रता दिईएको पासवानको भनाई छ ।
लामो समयदेखि सिद्धिचरण राजमार्ग जीर्ण अवस्थामा रहेको छ । सिरहाको मिर्चैयादेखि कटारी –घुर्मीसम्म सडकखण्ड जीर्ण अवस्थामा रहेकाले आउजाउ गर्नै समस्या रहेको छ । सडक खण्डको वीच वीचमा भने कामहरु भईरहेका छन् । सडक पिच भएपछि यात्रुहरुलाई निकै सहज हुने र त्यहाँका स्थानीयहरुलाई सुविधाको महसुस हुने स्थानीयहरुको भनाई छ ।
