पुर्णपुष्टि, पुष ५ । जिल्लाको कटारी नगरपालिका–४, स्थित त्रिवेणी मावि कक्षा ११ का कृषि प्राविधिकतर्फका विद्यार्थीहरुले आफैले च्याउ खेती गरि राम्रो आम्दानी लिन थालेको छ । सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीहरुले अभ्यासमार्फत च्याउ खेती गरेका हो ।
“किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौँ” भविष्यमा यही खेतीबाट आम्दानी गरेर जीविकोपार्जन पनि गर्न सकिने छात्र विवश लामिछाले बताए । कक्षा ११ का २२ विद्यार्थीहरुले रु ८० हजारको लागतमा सुरु गरेको च्याउखेतीबाट पहिलोपटकमै रु ४० हजार बरावरको आम्दानी लिइसकेका छन् ।
पढाइसँगै सीप र आम्दानीबाट पढाइका लागि च्याउखेती गर्दै आएका विद्यार्थीहरुले दुई टनेलमा गरिएको खेतीबाट चार पटकसम्म च्याउ उत्पादन निकाल्ने तयारी विद्यार्थीको छ । यसको आम्दानीले विद्यालयमा लाग्ने खर्चहरु आफैले भेल्न सक्ने छात्र सन्देश भण्डारीले बताए । भविष्यमा च्याउखेतीबाट पनि राम्रो आम्दानी लिन सकिने उद्देश्यले कक्षाबाट बचेको समयमा च्याउखेती गरिरहेको छात्रा कल्पना भण्डारीले बताए ।
च्याउ खेतीका लागि विद्यार्थीलाई सुरुमा लगानी विद्यालयले नै गर्ने गरेको छ । विद्यालयको लगानीबाट नाफा निस्किएको रकम विद्यार्थीले नै बाँडेर पढाइलगायत अन्य खर्च गर्न सक्नेछन् । विद्यार्थीलाई अध्ययनसँगसँगै अभ्यास पनि हुने भएकाले प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्की बताउछन् ।
बिद्यार्थीहरुले उत्पादन गरेका च्याउको माग बढ्दै गएको उनीहरू बताउँछन् । जाडो मौसममा राम्रो उत्पादन हुने विद्यार्थीले सामूहिकरूपमा समेत यसको आम्दानीलाई खर्च गर्ने बताउँछन् । यस अघिको तिहारमा पनि सयपत्री पूmलको खेती गरेर हाम्रो आम्दानी गरेको विद्यार्थीले बताए ।
