
पूर्णपुष्टि, माघ १ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको त्रिवेणी मैनी मेला आजदेखि सुरु भएको छ ।
मेला व्यवस्थापक सन्तबहादुर तामाङका अनुसार विहानैदेखि त्रिवेणीघाटमा भक्तजनहरूको घुइँचो लागेको छ । मकर स्नान गरी भाकल अनुसार पशुपंक्षी बलि दिई पूजा आराधना गर्ने क्रम सुरु भएको छ । कमला, तावा र ककरु खोलाको संगमस्थलमा लाग्ने यो मेला पहिले एक महिनासम्म चल्ने गर्थ्यो । माघे संक्रान्तिदेखि एक महिना लाग्ने भएकाले यसलाई ‘मैनी मेला’ भनिन्थ्यो । सशस्त्र द्वन्द्वपछि भने १५ दिनमा सीमित गरिएको थियो । यस वर्ष मेला २० दिनसम्म चल्ने छ ।
परापूर्व कालदेखि नै लाग्दै आएको यो मेला पहाड र मधेश जोड्ने सेतुको रूपमा चिनिन्थ्यो । पहाडबाट आलु, भोटे कुकुर, भेडाको ऊनका सामान ल्याइन्थ्यो भने मधेशबाट नुन, भाँडाकुँडा, लत्ताकपडा र मसला किनेर लैजाने गरिन्थ्यो । वागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशको सिमानामा पर्ने यस मेलामा भारतबाट समेत दर्शनार्थीहरू आउने गर्छन् । यस वर्ष पनि परम्परागत व्यापारसँगै विभिन्न जातजातिका परिकार र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
बुढापाकाहरूका अनुसार पाँच दशकअघि सिरहाको बन्दिपुरबाट कमला खोलैखोला हुँदै मधेस र भारतबाट पैदल व्यापारीहरू आउने गर्थे । त्यसबेला मेलाको मुख्य आकर्षण भोटे कुकुर बिक्री र घोडादौड प्रतियोगिता हुने गर्थ्यो । सडक सञ्जालको विकाससँगै मेलाको व्यापारिक महत्व केही घटे पनि धार्मिक र सांस्कृतिक महत्व भने कायमै रहेको छ ।