
पूर्णपुष्टि/कटारी, साउन १४
उदयपुरको कटारी नगरपालिका–३, हडैयामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी उपेन्द्र खरेलका अनुसार उनीहरू हडैया खोलामा पानी जमेर बनेको गहिरो खाल्डोमा पौडी खेल्ने क्रममा डुबेका थिए । स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी अस्पताल पुर्याएका थिए। तर, अस्पतालका चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।
