
पूर्णपुष्टि, भदौ ३
१६ वर्षीया किशोरीलाई करणी गरी फरार रहेको युवा बिराटनगरबाट पक्राउ परेको छ । किशोरीलाई प्रलोभनमा पारी इटहरीको होटलमा लगेर करणी गर्ने बराहक्षेत्रका २८ वर्षीय राजकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार जबरजस्ती करणी पश्चात फरार रहेका यादवलाई मोरङ प्रहरीको सहयोगमा बिराटनगर उमहानगरपालिका–५ स्थित त्रिमुर्ती चोकबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेका यादव २०७८ साल साउन १३ गतेको जबरजस्ती करणी घटना पश्चात फरार थिए । फरार प्रतिवादी खोजतलासको क्रममा उनी पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति उपर सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्न ७ दिनको म्याद समेत थप भैसकेको प्रहरीले जनाएको छ ।
