
पूर्णपुष्टि, माघ १४
मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचार नगरपालिका–४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जबरजस्ती करणी गरेको अभियोगमा सोही होटल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको सुन्दरहरैचा नगरपालिका–४ बलिया चौकका होटल सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी पक्राउ परेका हुन् ।
उनीहरुले गत ७ गते बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याई जबरजस्ती करणी गरेको खुल्न आएको छ । गत ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सञ्चालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो । सो घटनामा संलग्न फरार रहेका राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गत ११ गते ईलाम सुर्योदय नगरपालिका–१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय आरआईटी र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

