
पूर्णपुष्टि, असार २०
काठमाडौंमा कोरोना भाइरसको समयमा अग्रपंक्तिमा कार्यरत्त व्यक्तिको सम्मानमा बनाएको चित्रकला महानगरपालिकाले मेटाएको भन्दै कलाकारहरुले विरोध प्रर्र्दशन गरेका छन् । कलाकारहरुले महानगरपालिकाको कार्यालय अगाडी प्रदर्शन गर्दै फ्रन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीकोे चित्र प्रती सम्मान गर्न महानगरपालिकालाई आग्रह समेत गरेको हुन् ।
दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । तर महानगरपालिकाले उक्त चित्र मेटाइदिएको थियो । त्यसको विरोधमा आज महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापन पत्र बुझाउन गएका कलाकारले टोलीले पुनः चित्र कोर्न दिन माग गरेको छ ।
‘स्वास्थ्यकर्मी लगायत कोरोना महामारी नियन्त्रणका लागि दिनरात लाखौं बिरामीहरुको उपचार गरेकालाई उचित सम्मान र हौसला नभएकोले महामारीमा खटिएकाहलाई उच्च सम्मान प्रकट गरौं भनी सकारात्मक सन्देशमा लिई उक्त स्थानमा पुनः फ्रन्टलाइनरमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्ति र सरसफाइकर्मीको चित्र कोर्न पाउँ भनी अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
वडा कार्यालयसँग अनुमति लिएर चित्रकला बनाए पनि अचानक मेटाउँदा फ्रन्टलाइनर र कलाकर्मीहरुको चित्त दुखेको चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
