
पूर्णपुष्टि, पुष १६ । किरात राई समुदायको संस्कृतिमा विशेष महत्व राख्ने चिन्डो पछिल्लो समय दुर्लभ बन्दै गएको छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा अनिवार्य मानिने चिन्डो तराई क्षेत्रमा नफल्ने र पहाडी जिल्लाहरूमा समेत यसको उत्पादन घट्दै गएकाले प्रयोगमा कमी आएको हो ।
कटारीका संस्कृतिविद् कर्ण राईका अनुसार अहिले धजुरी पेजुरीमा प्रयोग गरिने सानो चिन्डो समेत धरान हुँदै चीनबाट आयात गर्नुपर्ने अवस्था छ । राई समुदायका अध्येता शुभराज राईले ओखलढुंगा र खोटाङ जस्ता पहाडी जिल्लामा समेत चिन्डोको उत्पादन घट्दै गएको बताए ।
चिन्डोलाई वाबुक, स्वालेवा र खारेवा पनि भनिने गरेको छ । विशेषगरी पूजापाठ र कोसेली बोक्ने प्रचलनमा प्रयोग हुने गाँडे चिन्डो र संस्कार गर्दा कुलपुजारीले प्रयोग गर्ने सुलुक्क परेको चिन्डो दुवै दुर्लभ बन्दै गएका छन् । यसको अभावमा विवाह प्रयोजनका लागि कलियारकल्लेले सिसाका बोतल प्रयोग गर्न थालेका छन् ।
राई समुदायमा देवाली÷खाउमो र न्वागी जस्ता पितृ कार्यका लागि गाउँगाउँमा खोजेर चिन्डोको व्यवस्था गर्नुपर्ने अवस्था छ । छोरीचेलीले बुनेर माइतीलाई दिने र छातीमा झुण्ड्याइने शुद्धताको प्रतीक धजुरी पेचुरीदेखि विभिन्न संस्कारमा अनिवार्य मानिएको चिन्डोको प्रयोग घट्दो क्रममा छ । यद्यपि, राई समुदायको बसोबास रहेका विभिन्न चोकहरूमा भने चिन्डोको प्रतिमा बढ्दो क्रममा निर्माण भइरहेका छन् ।