Tuesday, March 18News That Matters

किरावि संघ उदयपुरको नयाँ नेतृत्वद्वारा सिर्जनशिल काम र गतिविधि गर्ने प्रतिबद्धता

पूर्णपुष्टि/उदयपुर, फागुन १३ गते

-राई विद्यार्थीहरुको शिक्षा, हक, अधिकार र सामाजिक तथा राजनैतिक विषयलाईसमेत नजिकबाट अध्ययन गर्ने एकमात्र अगुवा संगठन किराँत राई विद्यार्थी संघको उदयपुर जिल्ला कमिटीको नेतृत्व गर्ने अवसर इशाक राईले पाएका छन् । नेतृत्व पाएसंगै राईले जिल्लाभरीका विद्यार्थीहरुलाई समेट्दै राई विद्यार्थीहरुको शिक्षामा टेवा पुग्ने सिर्जनशिल काम र गतिविधिहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

“किराँत प्रदेश प्राप्तीको लागि हाम्रो अभियान, त्रिभाषिक शिक्षा नीतिको पक्षमा सातौं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ शनिबार सम्पन्न किराँत राई विद्यार्थी संघ उदयपुरको सातौं जिल्ला सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा देविका राई, सचिव बिपन राई, सहसचिव प्रमिला राई र कोषाध्यक्षमा रोजिना राई रहेका छन् । सदस्यहरुमा निशा राई, हेमराज राई, ज्योती राई, निरुता राई, अम्बर राई, रेनुका राई, बिमला राई, दिपक राई रहेका छन् । त्यस्तै विक्रम राई, सिस्ता राई, कृष्ण राई, प्रेमकुमारी राई, आशिष राई, एन्जिल राई, सुनसेर राई, सुशन राई रहेका छन् ।

संघका केन्द्रिय अध्यक्ष बिर्सिका राईको प्रमुख आतिथ्यमा भएको सम्मेलनले प्रदेश नं. १ को नामाकरण “किराँत प्रदेश” हुनुपर्ने माग राखेको थियो । किराँत भूमिको ऐतिहासिक महत्व र किराँत समुदायको अस्तित्वलाई राज्यले स्विकार र सम्मान गर्न यस्तो नामाकरण गर्नुपर्नेमा सम्मेलनले जोड दिएको हो । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष राईले ऐतिहासिक भुगोलको आधारमा पनि प्रदेश नं. १ लाई किराँत प्रदेश उपयुक्त रहने बताउनुभयो ।

विशेष अतिथि एवम् किराँत राई यायोक्खाका केन्द्रिय उपाध्यक्ष गेन राई, केन्द्रिय सदस्य किरण राईले किराँत समुदायको सहअस्तित्व र समानताको निम्ति राज्यले विभेद गर्न नहुने बताउनुभयो ।

सम्मेलन मुल आयोजक समितिका संयोजक अन्जिल राईको अध्यक्षतामा भएको कार्यक्रममा किराँत राई योयोक्खा उदयपुरका अध्यक्ष विमल किराती, नेपाल आदिबासी जनजाति महासंघ उदयपुरका अध्यक्ष केशव राई, समाजसेवी महेन्द्र राई, ज्ञानेन्द्र वान्तवा, पत्रकार भोटराज राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

जिल्लाको विभिन्न क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको सम्मेलनको सुरुवातमा र्यालीले गाईघाट बजार परिक्रमा गरिएको थियो ।