
मोरङ, असोज १३
मोरङको उर्लाबारीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । संखुवासभा घर भई हाल उर्लाबारी–७ बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिकको कुटपिटबाट मृत्यु भएको हो ।
उर्लाबारी–७ मा होटल संचालन गरी बस्ने २६ बर्षीय गोपाल तामाङले मल्लिकलाई कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गत आईताबार मल्लिक होटलमा खाजा खान गएको बेला गोपाल र उनि विच बादविबाद भएपछि गोपालले एक्कासी कुटपिट गरी होटल वाहिर निकाल्न खोज्दा मल्लिक भुईमा लडी वेहोस भएका थिए । वेहोस भएका मल्लिकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकी भारतको सिलिगुडीमा उपचारकै क्रममा उनको आज विहान साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने होटल संचालक तामाङलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

