
पूर्णपुष्टि, असोज २३
नजिकिदो चाडपर्वलाई मध्यनजर गर्दै कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १ सय ६ मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ ।
विद्युत चाडपर्वमा बढी खपत हुने भएकाले १ सय ६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत् प्रथम आयोजनाले जनाएको छ । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित यस आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कुल १ सय ६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको छ ।
नेपाल विद्युत प्राधिकरणको निर्देशनानुसार, आयोजनाको नियमित विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले मौसम अनुसारको विद्युतमा खपत घटबढ भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेकाले अबदेखि पूर्ण क्षमताअनुसार विद्युत् उत्पादन हुने जनाईएको छ ।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर जलाशयमा हिजो दिउँसो ३ बजेसम्ममा १ हजार ५ सय २६.५६ सेन्टीमिटर पानीको सतह रहेको भए पनि करिब ७ किलोमिटर लामो जलाशयमा अझै पाँच मिटर उचाइको पानी भर्न बाँकी रहेको कुलेखानी जलविद्युत् नियन्त्रण कक्षले जनाएको छ ।

