
पूर्णपुष्टि,असार १२ । त्रियुगा नगरपालिकाले स्थानीय कृषकहरुलाई अनुदानमा ट्याक्टर र पानी तान्ने मोटर वितरण गरेको छ । नगरले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरर्गत वडा नम्बर ८ र ९ राजाबासका कृषकहरुलाई चालु आर्थिक बजेटबाट ५० प्रतिशत अनुदानमा दुई वटा ट्याक्टर र सत प्रतिशत अनुदानामा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको हो ।
असारे खेतीपातीको समय सुरु भएसँगै कृषि विकास शाखालाई नगरको ५०प्रतिशत अनुदानमा ट्याक्टर र साना सिंचाई कार्यक्रम अन्तर्गत पानी तान्ने मोटर सहित मोटर जोड्न आवस्यक समान र पाइप १०० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको नगर कृषि शाखाले जनाएको छ ।
नगरले स्थानीय कृषकहरुको आवश्यता र मागलाई सम्बोधन गर्दै करिव १३ लाख पर्ने दुईवटा ट्याक्टर र १० हजार पर्ने पानी तान्ने मोटर वितरण गरेको त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले बताए । उनका अनुुसार नगरपालिकाले कृषि क्षेत्रमा आत्म निर्भर बन्ने उदेश्य सहित व्यवसायीक कृषी कर्म गर्नेहरुलाई कृषि औजार वितरण गरिएको प्रमुख बस्नेत बताए ।
अनुदान वितरणलाई सम्बोधन गर्दै नगरका उप–प्रमुख महेश्वरी राईले कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्रको विकासका लागि किसानका मागका आधारमा कृषि औजार वितरण सुरु गरिएको बताइन । कार्यक्रममा वडा नं ८ र ९ का वडा अध्यक्षहरु समेत उपस्थित थिए।
