कैद र जरिवाना तोकिएका ११ फरार दोषी प्रहरी नियन्त्रणमा

पूर्णपुष्टि (उदयपुर) पुस १०
उदयपुर अदालतबाट दोषी फैसला भइ फरार अवस्थाका ११ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाका अनुसार बन कसुरका नौं र लागू औषध कसुरका दुई जनालाई नियन्त्रणमा लिई अदालत बुझाएको हो ।

अदालतबाट कैद तथा जरिवाना असुल उपर गर्ने फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कार्वाहीका लागि अदालतमा बुझाएको छ ।
पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका २ खैजनपुरका २० वर्षिय दिलिप चौधरी, ३३ वर्षिय राजिन चौधरी, २२ वर्षिय बिरेन चौधरी, ३५ वर्षिया रिता चौधरी, ३२ वर्षिया पवित्रा चौधरी र ३४ वर्षिया दुर्गा चौधरी, त्रिनपा ६ का सरोज खत्री र भुपध्वज विक रहेका छन् । उनीहरु विशेष सुराकीको आधारमा घरैबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

दिलिप, राजिन, बिरेन, रीता, पवित्रा, र दुर्गा सबैलाई जनही १ लाख ३६ हजार ६६७ रुपैयाका दरले जरिवाना तोकिएको छ । भने खत्री एकलाख जरिवाना र एकवर्ष कैद तोकिएको छ । विकलाई भने एकवर्ष कैद तोकिएको छ । उनीहरुबाट कुल ९ लाख २० हजार रुपैया जरिवाना असुल गर्नुपर्ने देखिएको छ ।

यसैगरी लागुऔषध मुद्दामा कैद तोकिएका बेलका नगरपालिका ७ मैनामैनीका १८ वर्षिय अशोक राई र सोही पालिका वडा नं. ९ का कृष्णबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिई अदालत पेश गरेको छ । कृष्णबहादुर राई एकवर्ष ६ महिना कैद र एकलाख जरिवाना तोकिएको छ भने अशोकलाई दशमहिना १५ दिन कैद तोकिएको छ । विशेष प्रहरी टोलीले घरैबाट उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: