
पूर्णपुष्टि, चैत ८ गते ।
भाइरस तथा ब्याक्टेरियासँग लड्ने औषधि भन्दा पनि हामी भित्र भएको बलियो आत्मबल हो । हामीसँग भएको विश्वास र आत्मबलले प्राणघातक रोगलाई पनि पराजित गर्न सकेका उदाहरण छन् । यो बेला आत्तिने भन्दा पनि संयमित हुने र शान्त रहने समय हो ।
अबको एक महिना वा त्यो भन्दा बढी हामी यसरी आत्तिंदै गयौं भने हाम्रो शारीरिक तथा मानसिक अवस्था कस्तो होला एक पटक गम्भीर भएर सोचौं । हामी शारीरिक तथा मानसिक रुपमा सबल तथा तन्दुरुस्त हुन सकेनौं भने जतिसुकै डराए पनि र आत्तिए पनि हामीलाई भाइरसले छोड्नेवाला छैन ।
अहिलेसम्म नेपालमा एक जना बाहेक कसैमा पनि कोरोना संक्रमण भएको देखिएको छैन । सङ्क्रमण भएकाको पनि उपचारपछि निको भइसकेको छ । एक जना बाहेक नयाँ सङ्क्रमित व्यक्ति भेटिएको छैन । त्यही भएर हामी यसरी आत्तिनुपर्ने अवस्था छैन ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा विभिन्न खबरहरु आइरहेका छन् । हामी हल्लै हल्लाको पछाडि लागेर आफ्नो आत्मबल घटाइरहेको छौं । तर यस्तो अवस्थामा आत्मबल घटाउनुको सट्टा एकले अर्कोलाई सहयोग गर्ने, भावना सुनिदिने, तथ्य र तथ्यांकलाई हेर्न वा बुझ्ने र आवश्यक साबधानी अपनाउने हो ।
कोरोना सङ्क्रमणबाट बच्ने उपाय
१ यो विपत्ति हो केही समयपछि ठिक हुन्छ भन्ने सोच्ने
२ दैनिक गर्ने कार्यहरुलाई निरन्तरता दिने
३ आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने
४ स्वस्थ खाना खाने, पर्याप्त निन्द्रा लिने र पानी प्रशस्त पिउने
५ मनमनै म ठिक छु, यस्तो बेला आत्तिनु हुन्न भनेर सोच्ने
६ साथीभाइ तथा परिवारका सदस्यहरुबीच मनका भावनाहरु बाँड्ने
७ बालबालिकाहरुलाई क्रियाकलापमा व्यस्त गराउने, आफू पनि सहयोगी बन्ने
८ नियमित योग अभ्यासहरु गर्ने र गहिरो श्वास लिने ।
९ कोरोना भाइरस लाग्दैमा मरिँदैन भनेर विश्वस्त हुने र आत्मबल बढाउने
१० यो समस्या मेरो होइन विश्वको साझा समस्या हो भनेर बुझ्ने
११ भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन पानीले हात धुने ।
