Tuesday, June 23News That Matters

कोरोना परीक्षण गर्न नयाँ मापदण्ड

पूर्णपुष्टि, जेठ ३० गते । 

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले कोरोना परिक्षण गर्न नयाँ मापदण्ड बनाएको छ । क्वारेन्टिनमा बसेर १४ दिन कटि सक्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर पठाउने मापदण्ड बनाईएको छ ।

क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापनसम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको संख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडीटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ ।

निर्देशक डा गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको संख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको परिपत्रमा उल्लेख छ ।

त्यस्तै कोरोनाका लक्षण नदेखिएका तर क्वारेन्टिनमा १४ दिन बिताइसकेकालाई थप सात दिन होम क्वारेन्टिनमा बस्ने गरी पठाउने, आरडीटी पोजेटिभ देखिएका तर कोरोनाका लक्षण नदेखिएकालाई स्वाब संकलन गरी पीसीआर जाँचको नतिजा नआउञ्जेल होम आइसोलेसनको मापदण्डअनुसार घरकै आइसोलेसनमा पठाउने र होम क्वारेन्टिन तथा आइसोलेसनमा रहँदा कोरोनाको लक्षण देखापरेमा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखी उपचार गराउने उल्लेख गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाका पहिलो कोरोना संक्रमितलाई १४ दिनसम्म कुनै लक्षण नदेखिएको भन्दै नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनबाट घर फिर्ता पठाइएको छ । गत जेठ २२ गते धनगढी प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएका घोडाघोडी नगरपालिका–११ का ३२ वर्षीय पुरुषलाई बिहीबार पुष्पगुच्छासहित नगरप्रमुखले र स्वास्थ्य शाखा प्रमुखले बिदाइ गरेका थिए ।

कोरोनाको लक्षण नदेखिएकालाई होम क्वारेन्टिनमा राख्नेगरी आइसोलेसनबाट डिस्चार्ज गर्ने राष्ट्रिय निर्देशिकाअनुसार उनलाई घर पठाइएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।