
पूर्णपुष्टि,वैशाख २२
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक दुई बेहुलीसहित तीन युवतीको संक्रमणले ज्यान गएको छ । राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि ज्यान गएको हो ।
अस्पतालका अनुसार वैशाख १० मा विवाह मण्डमा बसिरहेकी तारकेश्वर–७ की २६ वर्षीय बेहुलीलाई मण्डमै श्वास फेर्न गाह्रो भएपछि बिपी स्मृति अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालमा डेढ घण्टा अक्सिजन दिएर उपचार गरेपछि पुनः मण्डमै पु¥याएर विवाह सम्पन्न गरियो । श्वास–प्रश्वासमा झनै कठिनाइ भएपछि विवाहको भोलिपल्ट ११ गते पुनः सोही अस्पतालमा उपचारको लागि लगिएको थियो ।
उक्त बेहुलीको दुई दिन वार्डमा उपचार गरे पनि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि तेस्रो दिन आइसियुमा भर्ना गरिएको थियो । आइसियुमा चार दिनको उपचारपछि भेन्टिलेटरमा उपचार गर्दागर्दै उनको ज्यान गएको अस्पतालका प्रशासक मधु मिश्रले बताए ।
वैशाख ११ मै विवाह सम्पन्न भएकी भक्तपुर सुंडालकी २३ वर्षीया बेहुलीको वैशाख २० गते ज्यान गएको छ । उनलाई बिहेकै भोलिपल्ट श्वास–प्रश्वासमा समस्या भएपछि अस्पताल पु¥याइएको थियो । उनको भक्तपुरको कोरोना अस्पतालमा उपचारका क्रममा भेन्टिलेटरमा ज्यान गएको हो । कोरोना संक्रमणको कारण गम्भीर निमोनिया भएपछि उनको ज्यान गएको उपचारमा संलग्न चिकित्सक फिजिसियन सुनिल ढुंगेलले बताए । उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।
मृतक दुवै बेहुलीमा कुनै दीर्घरोग नरहेको र कोरोना संक्रमणको कारणले मात्र ज्यान गएको चिकित्सकले बताएका छन् ।
गत चैत ३० गते दोलखा भिमेश्वरबाट भक्तपुर माइत आएकी २९ वर्षीया महिलाको पनि कोरोना संक्रमणको कारण वैशाख १७ गते भक्तपुरकै इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनको आफन्तका अनुसार युवती भक्तपुरको जात्रामा सरिक भएकी थिइन् । जात्रामा सरिक भएपछि उनलाई गर्मी हुने, मुख सुक्ने जस्ता समस्या देखिए । उनी भक्तपुरमा सन्चो नभएको भन्दै दोलखा गइन् । घर गएपछि पनि स्वास्थ्यमा समस्या देखिएपछि चरिकोटको छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि घरमै फिर्ता पु¥याइयो । फेरी बिरामी परेपछि स्थानीय स्वास्थ्यचौकीमा र स्वास्थ्यचौकीबाट काठमाडौंको कौशलटारस्थित इन्टरनेसनल अस्पतालमा भर्ना गरियो । अस्पतालमा दुई÷तीन दिनको उपचारपछि भेन्टिलेटरमै उनको ज्यान गएको आफन्तले बताएका छन् ।
