
पूर्णपुष्टि, भदौ २१
गत साता कोरोना भाईरसको संक्रमणबाट यूएईमा थप पाँच नेपालीको मृत्यु भएको छ । विश्वव्यापी फैलिएको कोरोना संक्रमणबाट गत साता यूएईमा कार्यरत पाँच जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो ।
विदेशका विभिन्न १६ देशमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या २ सय पुगेको छ । बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको कोरोना संक्रमणबाट मृत्यु भएको समितिले जनाएको छ ।
गत साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको छ । जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको जनाएको छ ।
अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना सङ्क्रमित भएका छन् । अहिलेसम्म संसारका विभिन्न देशमा कार्यरत ३४ हजार नौ सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको समितिले जनाएको छ ।
उक्त संक्रमित मध्ये ३२ हजार नौ सय ८९ जना कोरोना निको भएका छन् । यो कुल सङ्क्रमित सङ्ख्याको ९४ प्रतिशत रहेको छ ।
