
पूर्णपुष्टि, बैशाख १२ गते ।
भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित फेला परेपछि गाउँपालिका ‘सिल’ गरिएको छ । हगापा–६ होम्ताङ्गका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका प्रवेश, बाहिरिन तथा आवतजावतमा पूर्ण रुपले बन्द गरिएको प्रशासनले जनाएको छ ।
आज बसेकोे जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र संखुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन गरेर कडाइ गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन भोजपुरले जनाएको छ ।
गत फगुन ३० गते साउदी अरबबाट काठमाडौं हुँदै होम्ताङ्ग घर आइपुगेको थियो । उनको ‘ट्राभल हिस्ट्रि’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा परीक्षणको दायरा बढाउनेबारे छलफल भएको थियो ।
उनका परिवारका सदस्य र सम्पर्कमा रहेकाहरू र वरपरको क्षेत्रमा कोरोना परीक्षणको लागि विज्ञ चिकित्सकसहित आरडीटी किट, पीपीई सेट, स्यानिटाइजर, एन–९५ मास्कलगायतका स्वास्थ्य सामग्री प्रदेश १ सरकारसँग माग गर्नेे निर्णय गरेको जनाएको छ ।
अहिले कोरोना संक्रमित पुरुषलाई घोडेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा भर्ना गरिएको पुरुषलाई आजै एम्बुलेन्समा विराटनगर लैजाने जनाईएको छ ।
