
पूर्णपुष्टि, जेष्ठ २७ । नेपालमा सामान्य मितिभन्दा १५ दिन अगावै अर्थात जेठ १५ गते कोशी प्रदेशमा प्रवेश गरेको मनसुन अप्रत्याशित रूपमा पूर्वी एसियातर्फ फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा निर्माण भएको बलियो न्यूनचापीय प्रणालीले मनसुनी वायुलाई नेपालको कोशी क्षेत्रबाट आकर्षित गरेको मौसमविद्हरूले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् गोविन्द झाका अनुसार मनसुनी वायु मुख्यतः फिलिपिन्स क्षेत्रतर्फ आकर्षित भएर गएकाले कोशीबाट अन्य प्रदेशहरूमा फैलिन सकेको छैन । मनसुन देशभर विस्तार हुने सम्भावना न्यून देखिएको छ ।
मनसुन प्रवेशको दुई दिनपछि जेठ १७ गते पूर्वी नेपालमा अप्रत्याशित मात्रामा वर्षा भएको थियो धरान–धनकुटा सडकखण्डअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा लेउती खोलाको बाढीले १०० मिटर सडक बगाएको थियो । त्यस्तै झापाको माइखोलामा आएको बाढीले २२ घरधुरी डुबानमा परेका थिए । तर त्यसपछिको अवधिमा कुनै उल्लेखनीय वर्षा नभएको झाले जानकारी दिए । हाल पश्चिम र मध्य क्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय रहेको अवस्था छ ।
मौसमविद् झाका अनुसार पश्चिमी वायुको प्रभाव अझै बलियो रहेकाले मनसुनी वायु देशभर विस्तार हुन नसकेको हो । सामान्यतया बङ्गालको खाडीबाट जलवाष्प बोकेर आउने मनसुनी वायु हाल कमजोर अवस्थामा रहेको उनले स्पष्ट पारे । यस अवस्थाका कारण हाल देशभर तापक्रम निरन्तर वृद्धि भइरहेको छ । मौसमविद्हरूका अनुसार यसरी मनसुनमा ब्रेक हुनु चिन्ताजनक सङ्केत हो । यसले केही स्थानमा अत्यधिक वर्षा र अन्यत्र खडेरीको समस्या निम्त्याउन सक्ने जोखिम छ ।
भोलिदेखि मौसम परिवर्तनको सम्भावना
तथापि मौसमविद् झाले भोलिदेखि नेपालका विभिन्न क्षेत्रमा पुनः बदली सुरु हुने सम्भावना रहेको जानकारी दिएका छन् । बङ्गालको खाडीमा नयाँ न्यूनचापीय प्रणाली निर्माण भएको र भारतको मध्यभूभागमा पनि न्यूनचापीय क्षेत्र विकसित हुँदै गएको उनले बताए । ‘यी प्रणालीहरूको प्रभाव नेपालमा पुगेर वर्षा गराउने सम्भावना छ’ झाले भने ।
यसवर्ष जल तथा मौसम विज्ञान विभागले सामान्यभन्दा बढी वर्षा हुने र तापक्रममा समेत वृद्धि हुने पूर्वानुमान सार्वजनिक गरिसकेको छ । यसैलाई आधार मानेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइसकेको छ ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार करिब २० लाख मानिस प्रभावित हुने र त्यसमध्ये १० प्रतिशत जनसंख्यालाई राहत तथा उद्धार गर्नुपर्ने अवस्था आउने अनुमानसहित तयारी गरिएको छ । मौसमविद्हरूले नागरिकहरूलाई मौसमी पूर्वानुमानको नियमित जानकारी लिइरहन र विपद्का लागि पूर्व तयारी गर्न सुझाव दिएका छन् ।
