Monday, April 20News That Matters

कोशी अस्पतालबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ

पूर्णपुष्टि, साउन २४ । कोशी अस्पतालबाट उपचारको क्रममा भागेका जबरजस्ती करणी मुद्दाका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन १७ गते शौचालय जाने क्रममा भागी फरार रहेका मोरङको बिराटनगर महानगरपालिका-८ का २४ वर्षीय मोहम्मद अहमदलाई बिहिबार पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठका अनुसार असार १५ गते पेट दुख्ने समस्या भई कोशी अस्पताल लगिएका अहमद अस्पतालबाट भागी फरार रहेका थिए। उनलाई मोरङको जहदा गाउँपालिका-१ तारेगामा स्थित नेपाल-भारत सीमा क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकी जिल्ला कारागार मोरङमा २०७९ साल फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका अहमदको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।