Wednesday, April 29News That Matters

कोशी बाल सुधार गृहबाट तीन बालबिज्याइँकर्ता फरार

पूर्णपुष्टि, बैशाख ३० ।  विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका छन् । जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका यी बालकहरूको फरार हुनाले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

फरार हुनेमा उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू रहेका छन् । बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसमध्ये उनले तीन वर्ष सुधार गृहमै बिताइसकेका थिए । अन्य दुई बालक झापा र ताप्लेजुङका हुन्, जसलाई पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएको थियो ।

बालकहरू दिउँसो साढे दुई बजेतिर फरार भएका हुन् । घटनाको जानकारी पाउनासाथ मोरङ प्रहरीले खोजी अभियान सुरु गरिसकेको जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले फरार बालकहरू खोज्न प्रहरी परिचालन भइसकेको र घटनाबारे विभिन्न कोणबाट अनुसन्धान थालिएको बताए । उनका अनुसार गृहको सुरक्षामा खटिएका प्रहरीहरूबाट समेत आवश्यक सोधपुछ भइरहेको छ ।

२४ घण्टा प्रहरीको निगरानी रहने भनिएको सुधार गृहमा यस्तो घटना हुनुले सुरक्षा संयन्त्रमै कमजोरी भएको देखिन्छ । प्रहरी असई शम्भू चौधरीको नेतृत्वमा १३ जनाको दरबन्दीमा प्रहरी टोली खटिएको भए पनि बालकहरू फरार हुन सक्नु गम्भीर लापरवाहीको संकेत मानिएको छ ।

सुधार गृहको दयनीय अवस्था

कोशी बाल सुधार गृहको भौतिक अवस्था अत्यन्तै जर्जर रहेको छ । ५० जनाको क्षमता भएको यस सुधार गृहमा सोमबारसम्म २४१ जना बालक राखिएका थिए । फरार भएपछि यो संख्या २३८ मा झरेको छ । प्रमुख चौहानका अनुसार गृहमा केवल नौवटा कोठा र एउटा हल मात्र छ, जहाँ एक कोठामा २५ जनासम्म बालकहरूलाई राख्नुपरेको अवस्था छ ।

“छाला सम्बन्धी र सरुवा रोगको चाँडो फैलने खतरा अत्यधिक छ । पठनपाठन र व्यवहार सुधार कार्यक्रम पनि प्रभावकारी ढंगले गर्न सकिएको छैन । बढी उमेरका बालकहरूको संख्या बढ्दै जाँदा सुरक्षात्मक चुनौती झनै बढेको छ,” चौहानले बताए ।

बारम्बार दोहोरिने फरार प्रकरण

यो पहिलोपटक होइन जब बालकहरू सुधार गृहबाट भागेका हुन् । यसअघि मोरङ र झापा घर भएका दुई बालक—तामाङ र पराजुली थर भएका—टीभी हेर्ने बहानामा तेस्रो तलाको झ्यालको ग्रिल निकालेर भागेका थिए । उनीहरूलाई प्रहरीले पाँच दिनपछि झापाबाट पक्राउ गरेको थियो। यस्ता घटना बारम्बार दोहोरिनुले कमजोर सुरक्षा व्यवस्थाको पुष्टि गर्छ ।