Thursday, April 30News That Matters

कोशी ब्यारेजमा उच्च बहाव: पैदलयात्रीलाई रोक

पूर्णपुष्टि, असोज १२ । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीहरूको आवागमनमा रोक लगाइएको छ । शनिबार दिउँसो साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि यो निर्णय लिइएको ब्यारेज प्रशासनले जनाएको छ ।

पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको र उच्च खतराको तह पार गरेको कारण पैदलयात्रीहरूलाई रोक लगाइए पनि सवारी साधनहरूको आवागमन भने खुला राखिएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजमा हाल ५६ वटै ढोका खोलिएको छ । भारतीय अधिकारीहरूले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने अनुमान गरेका छन् र सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न समेत रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि यस्तो सतर्कता अपनाइएको उनले बताए । भारतको पटनास्थित जल संसाधन विभागले कोशी नदीसँग जोडिएका भारतीय जिल्लाहरू सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा र खगडियामा पनि सतर्कता अपनाउन निर्देशन दिएको छ ।