Saturday, April 26News That Matters

क्षमता भन्दा बढी चुनढुङ्गा बोक्ने १५० टिफर कारबाहीमा

पूर्णपुष्टि, माघ २९ । क्षमता भन्दा बढी चुनढुङ्गा बोकेर सिमेन्ट उद्योगतर्फ जाँदै गरेका १५० भन्दा बढी टिफर सोमबार कारबाहीमा परेका छन् । सिरहाको मिर्चैया स्थित कटारी चोकमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा उक्त टिफरहरूलाई नियन्त्रणमा लिएको हो ।

कोसमस, सौर्य र मारुती सिमेन्ट उद्योगका लागि उदयपुरको कटारी, उदयपुरगढी र सिन्धुलीबाट चुनढुङ्गा ओसार्दै गरेका टिफरहरूले नियमित रूपमा क्षमताभन्दा बढी तौल बोक्ने गरेको पाइएको छ । ट्राफिक प्रहरी पोष्ट लहानका अनुसार सोमबार बिहान गरिएको चेकजाँचमा सबै टिफरहरूले तोकिएको क्षमताभन्दा बढी चुनढुङ्गा बोकेको फेला परेको थियो ।

यसरी ओभरलोड गरेर टिफर गुडाउने प्रवृत्तिका कारण मिर्चैया-कटारी सडकखण्ड जीर्ण बन्दै गएको छ । यसअघि पनि टिफरहरूले निम्त्याएको प्रदूषणविरुद्ध स्थानीयवासीले आन्दोलन गरेका थिए । सडक क्षेत्र वरपरका बस्तीहरूमा टिफरबाट निस्कने धुलो र ध्वनि प्रदूषणले स्थानीयवासी त्रसित बन्दै आएका छन् ।