खरिजुकाहरु

खरीजुकालाई थाहा छ, कसलाई लक्कुले हानेर लडाउनु पर्ने हो, कसलाई पक्कुले पेट सुमरो बनाइदिनुपर्ने हो, कसलाई चक्कुले च्वास्सच्वास्स घोच्नु पर्ने हो । लडाई लड्ने लडाकुले टिकट पाउँदैन यहाँ, यहाँ त लक्कुले टिकट पाइराखेको छ, पक्कुले टिकट पाइराखेको छ, चक्कुले टिकट पाइराखेको छ ।

  • पुण्य कार्की

खरिजुकाको स्वभावदेखि म भलिभाँती परिचित छु । मनुष्य रगतको गन्धयसले यतिछिटो थाहा पाउँछ । यसको नजिक पुगेको मान्छे यसबाट बँच्न गाह्रो गाह्रो हुन्छ । ऊबेला हामी पहाडबाट मधेश झर्दा लामो लेकाली बाटो छिचोलेर झर्नुपर्थ्यो । जीरे, टाट्ने, डोबाटे, थाम, माझखर्क, सीस्ने, भालेबास र ढुंग्रेको तेस्रो जंगलमा खरिजुकाहरु पातको भित्री सतहमा लुकीबस्ते । बाटाको दुवै किनारा बनमारा र घाँसका पातले ढाकिएको हुन्थ्यो ।
पातका विपरित पाटामा खरिजुका चुपचाप बसेका हुन्थे । जब बटुवा आएको गन्ध पाएपछि लुकी बसेका खरिजुकाहरु लप्लपाउँदै मानव शरीरमा प्रवेश गर्ने र शरीरको दुर्गम कुनाकाप्चामा लुकेर मनचिन्त्य रुपमा रगत चुस्थे । अघाएर भुइँमा झारी सकेपछि उसले चुसेको ठाउँमा थोरै चिलाउने र भलभल्ती रगत बगेको दृश्यलेमात्र खरिजुकाले भ्याएछ भन्ने थाहा हुन्थ्यो ।
पातको देखिने पाटोमा भन्दा पनि नदेखिने बिप्ल्याँटो पाटोमा बसेर मान्छे र चौपाया ढुक्नु यसको शिकार शैली हो । हुन त जुको सानै आकारको एक परजीवी किरो हो । कुनै आन्द्रामा घुसेर मान्छेको रगत चुस्न सिपालु हुन्छन् त कुनै शरीरमा टाँसिएर मान्छेलाई कुनै संकेत–सुद्धि नदिई चुपचाप रगत निकाल्न निष्णात हुन्छन् । खरिजुको घाँसपातमा लुकिबस्छ । नाम्ले जुको भने पेट र आन्द्रामा घुस्छ ।अर्काे एक पानीजुको पनि हुन्छ । पानीजुको पानीमा बस्छ ।कुनै जीवजन्तु घाँस चरेर पानी खान दहमा मुखडोबेपछि सोही मौका पारी यो नाकको प्वालबाट भित्रछिर्छ र तीनमहिनासम्म नाकभित्र लुकेर रगत चुस्न यो माहिर हुन्छ ।

मैले केटाकेटी उमेरमा देखेको हुँ । कटुवालबाले पाङ्ग्रीगाईको नाकमा लुकी बसेको पानीजुकोलाई खाक्सीका पातले समातेर भुइँमा पछार्नु भएथ्यो । तीनतीन महिना गाईको नाकभित्र पसेर रगत खाएर अरिमुठे भन्दाठूलो बन्दा पनि गाईधनीलाई केही थाहा भएन । यी त भए प्रकृतिका परजीवी जुकाको कुरा, अहिले चुनावको मौसम छ । खालखालका खरिजुकाहरु गाउँ ओर्लेका छन् ।
लेकको खरिजुको जसरी पातको देखिने पाटोमा बस्तैन, ऊ पातको उल्टो पाटोमा अर्थात् भित्रीपाटोमा लुकीबस्छ र मान्छेको शिकार गर्ने वेलामामात्रै मुन्टो लप्लपाउँदै बाहिर प्रकट हुन्छ । ठीक यही स्वभावमा मानव खरिजुकाहरु हिजोसम्म गाउँको देखिने ठाउँमा कहिल्यै रहेनन् । उनीहरु शहर र राजधानीमाआलिशान बंगलाका चेपचापमै लुकेर रहे । तर जव चुनाव आयो । यिनलाई एक्कासी पदको भोक जाग्यो । चुनाव लड्न टिकटको तलतल उब्ज्यो ।अनि शहरबाट भटाभटी यी खरिजुका पनि विलकुल रगत चुस्ने मनसायका साथ गाउँ ओर्लेका छन् ।
विकास गर्ने, जनताको सेवा गर्ने त भन्ने कुरा मात्र हो; यिनको मूलअभिष्ट लाभको पद हासिल गरेर बजेटमाथि आफ्नो चोसो गाड्नु नै हो । जसरी जेठ असारका मच्छडहरु स्यार्र पानी परेपछि बढी चलायमान हुन्छन् । वर्षातका छिटाले उनीहरुलाई जीवन्त बनाउँछ र टुनुनु ऽऽऽ आवाजदिँदै ताजा रगतको खोजमा डुलिहिड्छन् । तिनकै समतुल्यतामा मानव खरिजुकाको चल्तीफिर्ती बढेको छ ।

करिब–करिब त्यहीभाकामा लय थप्तै खरिजुकाहरु गाउँओर्लका छन् ।कुनै जिल्ला ओर्लेका छन् । कुनै खरिजुको विदेशबाट काठमाण्डौँ ओर्लेको छ । कुनै जापान, अमेरिकाबाट ओर्लेको छ । कुनै म्यानपावरको दोकान खोलेर मान्छेको मोलतोल गर्दागर्दै त्यो व्यवसाय एकछिन बिसाएर तल ओर्लेको छ । कुनै ठेक्कापट्टा र दलालीलाई केहीवेर विश्राम दिएर तल ओर्लेको छ । कुनै डन, डकैती र कालोबजारी पेसालाई थाती राखेर तल ओर्लेको छ । मण्डले कुण्डले पनि आफ्ना सुण्डमुण्ड सहित ओर्लेका छन् ।
खरिजुको सिधा मनले तल ओर्लेको छैन । यसको मनमा केही कपट छ । केही न केही कालो छ । उसले देखेको छ; घुम्ने कुर्सीको मजा र करोड करोडको बजेटको वाल्छ्याल आवाज । त्यसमा थोरै चोसो गाड्न पाए पनि पानीजुकाले पाङ्ग्रीगाईको नाकबाट रगत निकाले सरहको फलिफाप हासिल भैहाल्छ भन्ने ठहर छ ।
लेकका पाइने खरिजुकाकै साम्यतामा आफ्नो स्वभाव देखाउँदै मानव–खरिजुकाहरुबाट बस्तीपिडित छ । यिनकाबीच चुसक सुँढ मिल्नेमात्र होइन खैरो र पहेलो रंगको सिँगारे वर्ण पनि मिल्छ । अर्थात् मानव–खरिजुका पनि देखिनमा सिँगारे वर्णकै हुन्छन् ।
हिजो गाउँ अथाह वेदनामा दुख्ता यिनीहरु कहिल्यै मह्लम दल्न आएनन् । आज गाउँको सेवक–साखुल्यताको झुटो अभिनय गरिरहेका छन् । गाउँ असहज अप्ठयारोमा रुमल्लिरहेको वखत यिनीहरु अर्कै सुख स्वर्गमा शयर गरिरहेका थिए । गाउँ अभाव र अनिकालमा बेरिँदा टाङमुनि पुच्छर लुकाएर शहर छिरेका खरिजुकाहरु आज गाँउको गरिवीको मुक्तिदाता वन्न अभिनय गरिरहेछन् ।
संगीनमय संकटको घडी दुलामा पसेर लुकेका लुते कुकुरहरु अहिले अतिचर्काे आवाजमा घ्वाङघ्वाङ भुकिरहेछन् । हिजो आँधीहुरी चलेको कठिन समयमा आस्थाको दियो खोकिलामा राखेर जोगाउने असली योद्धा परित्यक्त छन् । उपेक्षित छन् । कारण खरिजुकाहरुले पाटी–सत्ताको तख्ती पल्टाइसकेका छन् । मण्डले कुण्डलेले झोली भरिसकेका छन् । धन देखेपछि महादेवका तीन नेत्र भन्छन्, नेताका तीन नेत्र होइन सहस नेत्रलाई पैसाको बिटोले टालिदिए पछि विवेक अन्धो बन्छ । अनिवीर वुद्धूद्वारा लल्कारिन्छ ।
खरीजुकालाई थाहा छ, कसलाई लक्कुले हानेर लडाउनु पर्ने हो, कसलाई पक्कुले पेट सुमरो बनाइदिनुपर्ने हो, कसलाई चक्कुले च्वास्सच्वास्स घोच्नु पर्ने हो । लडाई लड्ने लडाकुले टिकट पाउँदैन यहाँ, यहाँ त लक्कुले टिकट पाइराखेको छ, पक्कुले टिकट पाइराखेको छ, चक्कुले टिकट पाइराखेको छ ।
कस्तो अचम्म हिजो गाउँमा भुपट्ट अनिकाल लाग्यो ।खाने खोस्रिने केही चिज बाँकी रहेन । चिथोर्ने चबाउने कुनै जिनिस वाँकी रहेन । एकरातको पनिभोक सहन नसक्ने मुसाहरु गाउँछोडेर शहर पसे । मान्छेका आली अटालीहरुमा घुसे । खडेरीको परिताप खप्न नसकेर बसाइँ हिँडेका मुसाहरु आजगाउँमा हरियो परियो पलाएको मौसम हेरेर हरियाली चाट्न धमाधम गाउँ फर्किँदाछन् ।
मुसा र खरिजुकाको जीनमा एक साम्यता छ । यिनका नासापुटमा एउटै घ्राणशक्ति बिच्छिएको छ । यिनले गन्ध पाएका छन्, गाउँमा अव सहकाल भित्रिँदै छ । गाउँमा अव अनिकाल छैन । गाउँमा अव काहाली लाग्दो दुर्भिक्षको प्रकोप छैन । प्रकोप सिद्धिएको लख काटेर धमाधम मूषकगण गाउँ ओर्लिएको दृश्य अनौठो छ ।

लामो खडेरीले गाउँमा अनिकाल लागेको हो । खडेरीले गाउँका पानीका सारा स्रोतहरु सुकेकाथिए । आहाल सुके । धारा सुके । कुवा सुके । पुराना जरुवाका मुलहरु सुके । खोली सुके । खोला सुके । भ्यागुताहरुलाई आपत पर्यो । सवै भ्यागुता गाउँ छोडेर व्याँसीतिर ओर्ले । व्याँसीमा सप्तकोशीको भेल उत्तिकै सुसाएर बगिरहेको थियो । कोशीका प्रवाहमा डुबुल्की मारेर भ्यागुताले शान्तिको सास फेरे । कोशीको जलप्रवाहमा शितलता भेटेपछि गाउँको कुनै सम्झना आएन । आफ्नो मातृभूमिले स्मृतिबाट विदा लियो ।
जव गाउँमा निर्झर पानीको वर्षात् हुनलाग्यो । सारा आहाल डोबिल्काहरु भरिन लागे । धाराहरु झर्न थाले । जरुवाहरु रसाउनथाले । कुवाहरुमा कुलकुल ध्वनि सुनिन थाल्यो । सुख्खापोखरी जलमग्न बन्नथालेको खवरले व्याँसी झरेका भ्यागुताका जीव्रा रसाउन थाले । गाउँ जलप्रवाहले मनोहारी भएको दृश्य कल्पेर मण्डूकगण फेरि उकालो चढ्न थाले । तप्तखडेरीकावीच पनि एकथरि भ्यागुताहरु गाउँमै टिकेका हुन् । गाउँमै बसेकाछन् । मरे मरियोस् तर किमार्थ पितृभूमि छोडेर हिँडिन्न, यस्तो संकल्प बोकेर पानीको हाहाकार झेलेका छन् । संघर्षको बेहेरीलाई छिचोलेर गाउँमै जीवन जोगाएका छन् । आज तिनलाई पोखरीबाट विस्थापित गर्ने योजनाका साथ व्याँसीका भ्यागुतागण उकालो चढेको खवरले नमिठो पीडादिन्छ ।
मान्छेको आदिम पूर्खा बाँदर भएजस्तै, भनिन्छ कुकुरका आदिमपूर्खा ब्वाँसो हुन् । प्राणीशास्त्रीहरुले लखकाट्छन्, जंगली ब्वाँसोबाट कुकुर बन्नपन्ध्र हजार वर्ष लागेको छ । अर्थात् आजका कुकुरहरु पन्ध्र हजार वर्ष अघिव्वाँसो थिए । ब्वाँसो कुकुर बन्नुको आफ्नै कथाव्यथा होला । आदिम जंगली युगमा त मान्छे पनि वनमै थियो ।व्वाँसो पनि वनमै थियो । दुवै वनचरुवा प्राणी थिए । मान्छे चेतनाको हिसावले विकसित प्राणी थियो । आफ्नो जीवनशैलीलाई विकसित गर्दै गयो । गुफा र जंगल छोडेर घर बनायो । वस्ती बनायो । खेतीपाती गर्यो ।आफैँले अन्न फलाएर खानथाल्यो ।
कालान्तरमा जंगलमा ब्वाँसाको भोजन सकिँदै गयो । भोकले पिडितव्वाँसो मानवबस्ती नजिक आउन थाल्यो । मान्छेले खाएर उव्रेको जुठो पुरो जहाँ फ्याँक्यो त्यसलाई खोज । समय क्रममा मानवबस्तीको निकट रहेर उसले गुजारा चलाउन थाल्यो । कतिपय अवास्थामा मानिसको लागि सुरक्षाको भरपर्दाे मित्र हुनथाल्यो ।

मानिसको जुठोपुरो खाएकोले स्वामीभक्तिको अनुपम कला छ कुकुरसित । आजमान्छेले मान्छेलाई धोका देला तर कुकुरले नुनको सोझो गर्दै आएको छ । हतपत यसले आफ्नो स्वामीप्रति विश्वासघात गर्दैन । मान्छेको खान्की र संगतको प्रभावले एकथरि खुँखार व्वाँसो मायालु कुकुर बनिसक्यो, अर्काेथरि ब्वाँसो गण जंगलमै छन् । अहिले पनि ती ब्वाँसाले मान्छे भेटे भने ठाडै चिथोर्छन् । जीवजन्तुलाई त यसरी मार्छन्; त्यसको क्रुरताको कुनै पाराकाष्ठा छैन ।
सुनेको छु, ब्वाँसोले चरिरहेको गाईको ठाडै आन्द्राझिकेर खाइदिन्छ अरे । पहिले चरिरहेको गाईलाई वरिपरि छेकारो मारेर पिसाव गर्छ । पिसावको रसायनिक प्रभावले गाईका आँखा बन्द हुन्छन् । उसले केही देख्दैन । त्यसपछि गाई नजिक गएर एक हातले पुठो कन्याइ दिन्छ । गाई सन्च मानेर उभिन्छ अर्काे हात विस्तारै मलद्वारबाट भित्रछिराएर आन्द्रा झिकेर खान थाल्छ । गाई ठाडै उभिरहेको छ । ब्वाँसाले भने आन्द्रा तानिसक्छ । यस्तो शिकार कला हुन्छ ब्वाँसोसित ।
ब्वाँसोको चरित्रलाई मान्छेमा पनि आरोपित गरेर हेर्ने गरिन्छ । अर्काको आन्द्रा लुछ्ने खुंखार शोषक प्रवृत्तिलाई ब्वाँसो भनेर गालीगर्छाै । आजको विद्रुुप समयमा गाउँका अदनागौ प्राणी मनुवाका पुठो कन्याउन ब्वाँसाका हुलहरु गाउँ पसेका दृश्यहरु जताततै गोचर हुन्छ। उनीहरुले नकाव भेडाको भिरुन् या कुकुरको भिरुन्, मूलमक्सदचँ गाउँ र गाउँलेको पुठो कन्याएर आन्द्राभुडी झिक्ने नै हो । जनताको रगत मासु लुछ्ने नै हो ।
जाग्रत चेतना र सावधानीले गाउँ जुरुक्क उठ्न सकेन भने फेरि पनि खरिजुकाहरुले हाम्रो शरीरबाट ग्यालेनका ग्यालेन रगत झिक्नेछन् र आफू मोटाउने छन् । फेरि पनि मच्छडकै राजचल्ने छ । फेरि पनि बसाइँ हिँडेका मुसा र भ्यागुताले भोरको भुकभुके लालीचाट्ने छन् । फेरि पनि ब्वाँसाहरु कै बिगबिगी छाउने छ । यिनकाविरुद्ध तुरही बजाउने मान्छे कहाँ छन् ? त्यसको खोजीमा म छु । -समाप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: