
उदयपुर, असार ३ गते ।
बालबालिकालाई बेलैदेखि पत्रकारिताको ज्ञान दिने उद्देश्यले त्रियुगा नगरपालिकाको १५ नं. वडा खाँबुमा बालबालिकाका लागि आधारभूत पत्रकारिता प्रशिक्षण तालिम मङ्गलबारदेखि सञ्चालन भएको छ ।
वडा कार्यालयको सहयोग, पूर्णपुष्टि साप्ताहिकको आयोजना र रौतारानी बाल सञ्जालको ब्यवस्थापनमा खाँबुको रानिबासमा तीनदिने प्रशिक्षण तालिम सञ्चालन भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् वडाअध्यक्ष नीरबहादुर मगरले उद्घाटन गरेको प्रशिक्षणमा वडाका १९ जना बालबालिका सहभागि छन् । वडाका बालबालिकालाई सानैदेखि पत्रकारिताको बारेमा ज्ञान दिने उद्देश्यले कार्यक्रम राखिएको अध्यक्ष मगरले बताए । सानैदेखि बालबालिकाले पत्रकारिताको महत्व बुभ्mनुका साथै ज्ञान पाएको खण्डमा सामाजिक विकृति, विसंगति, अन्याय, अत्याचार, अनियमितता जस्ता कुराहरुको विरुद्धमा आवाज उठाउने र वडाको विकास, निर्माण, शिक्षा, स्वस्थ्यको क्षेत्रमा टेवा सूचना प्रवाह गरी टेवा पुर्याउने आशा गरिएको उनले बताए ।
कार्यक्रममा वडा सदस्य तथा पूर्व प्राचार्य कुलबहादुर खत्री, स्वस्थ्य चौकी इन्चार्ज एकबहादुर समाल मगर, शिक्षकहरु हेमराज समाल, टेकबहादर राई, बाल संरक्षण समिति खाँबुका सचिव द्रोहीणीप्रसाद गुरागाई, वडा सचिव मञ्जु आचार्य लगायत अतिथि रहेका थिए । उनीहरुले मन्तब्य राख्दै खाँबुको विविध कुराहरुलाई समाचारमा ल्याउन बालबालिकाको भूमिका हुने, समाजका सकारात्मक र सुधारात्मक दुखै खाले कुरालाई उठाउने आशा गरिएको बताए । साथै उदयपुरमा प्रशस्त मिडियाहरु रहेपनि खाँबुबासीले सहजरुपले पत्रिका पढ्न र समाचार सुन्न नपाएको गुनासो पनि राखेका थिए । सर्बसाधारणको आशा र भरोसा बोकेको पत्रकारिता आफैमा सम्मानित पेशा भएकोले यस क्षेत्रमा लाग्नेहरु मर्यादित हुनुपर्ने बताए ।
पूर्णपुष्टिका प्रकाशक/सम्पादक भोटराज राईले कार्यक्रमको बारेमा प्रकाश पार्दै बालबालिकालाई बेलैदेखि पत्रकारिताको बारेमा जानकारी तथा ज्ञान दिनसकेको खण्डमा सभ्य र विकसित समाज निर्माणमा टेवा पुग्ने बताए । यसबाट सूचना र सञ्चारमैत्री वडा निर्माणमा पनि मद्दत
पुग्ने उनले बताए ।
रौतारानी बाल सञ्जालका अध्यक्ष अनिल गुरागाईको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन पूर्णपुष्टिकी प्रतिक्षा मगरले गरेकी थिइन् ।