
उदयपुर, असार ३ गते ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा नियुक्ती पाएका १५ नं. वडाका रोजगार पाउनेहरुले सडक मर्मत, पर्यटन प्रवद्र्धन, सार्बजनिक स्थलहरुको सरसफाई जस्ता काम गर्न थालेका छन् ।
वडाध्यक्ष नीरबहादुर मगरका अनुसार रोजगारी नियुक्ती पाएपछि असार १ गतेदेखि उनीहरुले काम थालेका हुन् । दैनिक ८ घण्टा काममा खटिने उनीहरुले वडाको निर्देशनमा आवश्यकता अनुसार वडा गौरबका सडकहरु बेलदोभान–सिद्रे–डहर सडक, चिलाउने भञ्ज्याङ–बेल्दोभान सडक, बाघखोर–कुभिन्डे सडक, रानिबास–बेतेनी–सुनकोशी सडक लगायतको मर्मत गर्ने गरेका छन् । त्यस्तै उनीहरुले सार्बजनिक स्थल तथा मठमन्दीरहरुमा विरुवा रोप्ने, फुल रोप्ने र सरसफाई गर्नुका साथै मठमन्दीरमा सरसफाई गर्ने काम थालेका हुन् ।
वडाबाट २५८ जनाले बेरोजगारी विवरण फारम भरेकोमा तीनै मध्ये १५ जनाले काममा नियुक्ती पाएको अध्यक्ष मगरले बताए । अति विपन्न अवस्थालाई हेरेर रोजगारी दिइएको पनि उनले बताए ।