
पूर्णपुष्टि/उदयपुर, असार २६ ।
उदयपुरमा पहिलोपटक खेलकुद पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को संयोजन र पत्रकार महासंघ शाखा उदयपुरको व्यवस्थापनमा गाईघाटमा तालिम भएको हो ।
प्रदेश नं. १ अन्गर्तत झापा, सुनसरी, मोरङ, उदयपुर लगायतका जिल्लाका पत्रकारहरुको सहभागिता रहेको दुईदिने तालिममा पत्रकार महासंघ केन्द्रिय सदस्य पवन आचार्य र खेलकुद पत्रका मञ्चका महाहसचिव प्रकाश तिम्सिनाले प्रशिक्षण दिएका थिए ।
खेलसंग सम्बन्धीत प्राविधिक ज्ञान र शैलीका साथ समाचार लेख्न सहज होस् भन्ने हेतुले आयाजित तालिमको सोमबार विहान उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले खेलकुदमैत्री नीतिमा जोडदिदै कार्यन्वयनमा जोड दिने बताउनुभयो ।
पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक महेन्द्र राई लगायतका वक्ताहरुले तालिमबाट खेलकुद समाचार लेखनमा सहज हुने र खेलकुद समाचारमा बृद्धि गर्ने बताए । तालिमका सहभागिलाई समापन समारोहकाबीच प्रमाणपत्र प्रदान गरिएको थियो ।