Monday, March 17News That Matters

खोज पत्रकारलाई पुनर्ताजगी तालिम

पूर्णपुष्टि/उदयपुर, असार १० गते ।

सञ्चारिका समुहले खोज पत्रकारिताका लागि दक्ष पत्रकार जन्माउने उद्देश्यले सञ्चालन गरेको खोज पत्रकारिता तालिमका सहभागिहरुलाई गाईघाटमा आजदेखि  पुनर्ताजगी तालिम सञ्चालन गरेको छ ।

गत बैसाखमा सिन्धुलीमा सञ्चालित तीन दिने “लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम” का सहभागिहरुका लागि उदयपुरको गाईघाटमा दुईदिने पुनर्ताजगी तालिम सञ्चालन भएको हो । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए) र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोगमा आयोजित तालिममा उदयपुर, सिन्धुली, ओखलढुङ्गाका पत्रकार सहभागि छन् ।

तालिमको उद्घाटन गर्दै प्रमूख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले तालिमबाट पत्रकारलाई कुनै पनि समस्या पत्ता लगाउने मात्र नभई तथ्यसहितको समाधानसमेत खोज्न सक्ने क्षमतावान बनाउने अपेक्षा राख्दै तथ्यपरक समाचारमा कारवाही बढाउन सजिलो हुने बताउनुभयो । पत्रकारिता मर्यादित पेशा भएकाले पत्रकारबाट सदैव सत्यतथ्य र विश्वसनीय काम हुनुपर्ने सुझाव राख्नुभयो ।

तालिमको प्रमुख प्रशिक्षकसमेत रहनुभएका खोज पत्रकारिता केन्द्रका सम्पादक तथा नेपाल पत्रकार महासंघ, पूर्व केन्द्रिय अध्यक्ष शिव गाउँलेले अवका दिनमा पनि विदेशी पत्रकार आएर खोज खबर छापिदिनुपर्ने दिनको अन्त्यका लागि तालिम महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता तालिमबाट गहन खोज खबर छाप्ने पत्रकार नेपालमै जन्मने विश्वास व्यक्त गर्नुभयो ।

बरिष्ठ पत्रकार एवम् पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कौशल चेम्जोङले समाज रुपमान्तरणका लागि पत्रकारको कलमले परम्परागत धारणाप्रति धावा बोल्न सक्नुपर्ने भन्दै जुन कामस खोज पत्रकारिताबाट सम्भव रहेको आसय व्यक्त गर्नुभयो ।  पत्रकार महासंघ प्रदेश नं. १ का सचिव हरिकुमार राईले लुकेर रहेका कुराहरुलाई खोतलेर निकाल्न सक्ने खोज पत्रकारिताबाट पत्रकारको इज्जत, प्रतिष्ठासमेत स्थापित हुने बताउनुभयो । पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष भरत खड्काले समाजमा रहेका लैंगिक हिंसाका विषयहरुलाई सुक्ष्मरुपले खोजेर बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

खोज पत्रकारिता जोखिमपूर्ण रहेपनि चुनौतीको सामना गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।  यूएनएफपीएका उदयपुर प्रमुख चन्द्र ज्ञवालीले लैंगिक हिंसा अन्त्यका लागि बृक्षरोपण अभियान उदयपुरबाट सुरु भएको र हालसम्म २५ जोडीले बृक्षरोपण गरिसकेको र अन्य ९० जोडी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । यस्ता अभियानलाई खोज खबरमा स्थान दिन अनुरोध गर्दै यसले अभियानले सार्थकता पाउने र लैंगिक हिंसा न्यूनिकरणमा मद्दत पुग्ने बताउनुभयो ।

तालिम सहजकर्तासमेत रहनुभएकी सञ्चारिकाकी अध्यक्ष निर्मला शर्माले खोज पत्रकारितामा दक्षताका साथै लैंगिक हिंसाका मुद्दा उठाउन सक्ने जनशक्ति उत्पादन गर्ने तालिमको उदेश्य रहेको बताउनुभयो ।