
पूर्णपुष्टि, जेष्ठ १२
विगत लामो समयदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरले खोेटाङलाई पनि गाँजीरहेको अवस्थामा कुलपुजा (देवाली) गर्दै गर्दा दुई पुजारी सहित पाँच जना पक्राउ छन् । मझुवागढी नगरपालिका–४ खाल्लेमा व्यापक रुपमा मानिसहरुको भेला जम्मा गरि कुलपुजा (देवाली) गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायण प्रसाद चिमरियाले बताउनुभयो ।
जिल्लामा कोरोना संक्रमणदर बढे सँगै बिहे, भोजभतेर, जमघट, साकेला पर्व, देवालीलगायतका सामाजिक कार्य नगर्न भनिएको अवस्थमा पनि उनीहरुले देवालीको गरिरहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको चिमरियाको भनाई रहेको छ ।
अनावश्यकरुपमा घर बाहिर निस्कने र भेला जम्मा भएर सामाजिक कार्य गरेमा तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न जिल्लाभर सुरक्षा निकायलाई परिचालन गरिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले निकालेको विज्ञप्तीमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरि समुहमा गरिने कुल पुजा (देवाली), साकेला पर्व लगायतका विभिन्न चाडपर्व र सामाजिक कार्यहरु नगर्ने, मनाउनै पर्ने भए घर परिवारभित्रका सदस्यहरुले मात्र विधि फुकाउने व्यवस्था गरि मनाउने, विकास निर्माण सम्बन्धि कार्यहरु सञ्चालन गर्दा निर्माण कार्यसँग सम्बन्धित कर्मचारी तथा कामदारलाई निर्माण स्थलमै राख्ने, खाने बस्ने व्यवस्था मिलाएर मात्र सञ्चालन गर्ने भनिएको छ ।
बिहे, भोजभतेर, जमघट, साकेला पर्व, देवालीलगायतका सामाजिक कार्य नगर्न भनिएको अवस्थामा कोही कसैले जवरजस्त यस्ता कार्य गरे संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।
जिल्लाका १० वटै स्थानीय तहमा कतै विहेमा, कतै गुन्युचोलीमा सहभागीता हुँदा, कतै, रुद्रीपुजामा कतै भोजभतेर र कतै बाहिरबाट घर आएर क्वारेन्टिनमा नबसी तथा परीक्षण नगराई डुल्दिँदा र स्वास्थ्य सुरक्षाका न्यूननतम मापदण्ड पालना नगर्दा सल्केको कोरोना अहिले गाउँका कुनाकन्दरामा भुसको आगो झै फैलिएको छ ।
